माओवादी केन्द्रले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान फागुन १२ गते झापाको कचनकबलबाट सुरू गर्ने भएको छ।
अभियानका क्रममा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ।
अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्नेछन्। टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन्। सम्बन्धित प्रदेश, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहने छ।
कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ। मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा नै कार्यक्रम हुनेछ। बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ।
अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिने छ।
जनयुद्धको अन्त्यतिर र जनआन्दोलनको सुरुवातको बेला माओवादीले चलाएको चर्चित गण्डक अभियान जस्तै झल्को दिने गरी फेरि हुलाकी र पुष्पलाल मध्य पहाडी अभियान चलाउन लागेको छ।
माओवादी केन्द्रले वैशाखमा पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित पूर्व–पश्चिम जागरण अभियान गर्ने पनि तयारी गरेको छ।


