कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँबस्ती र त्यहाँका मानिसको जीवनसँग जति नजिक पुग्दै जान्छु, त्यति नै यस भूगोलभित्र लुकेका कथा र सम्भावनाहरूले मलाई तान्दै लैजान्छन् । बिशाल खस साम्राज्यको ऐतिहासिक विरासत सिंजाको सभ्यता, नेपाली भाषाको उत्पतिसँग जोडिएको भूगोल, देउडाको लय, मार्सीधानका खेत, हिमाली स्याउका बगैँचा र कठिन भूगोलमा पनि आत्मीयता बाँडेर बाँचिरहेका मानिसहरू–कर्णालीलाई बुझ्ने मेरो यात्रा यिनै विषयको वरिपरि घुमिरहेको छ । विगत केही वर्षदेखि कर्णालीका विभिन्न जिल्लामा पुग्ने,त्यहाँको इतिहास, धर्म, संस्कृति,पर्यटन,कृषि र जनजीवन बुझ्ने अवसर पाइरहेको छु । प्रश्नको उत्तर खोज्दै कर्णाली यात्रा गरिरहँदा रारा मेरो मनमा लामो समयदेखि रहेको एउटा अधुरो अध्याय थियो ।

राराका बारेमा मैले धेरै पढेको थिएँ । अरूले सुनाएका अनुभव सुनेको थिएँ । तस्वीर र भिडियोमा यसको सौन्दर्य देखेको थिएँ । धेरैपटक रारा जाने योजना बन्यो । कहिले मौसमले साथ दिएन, कहिले आफ्नै कामको व्यस्तताले रोकेको थियो, कहिले बाटो खर्च जोहो नहुदा योजना स्थगित भयो । जाने इच्छा भने कहिल्यै स्थगित भएन । कर्णाली इतिहासमा यति शक्तिशाली भूगोल आज किन पछाडि छ ? सम्भावनाले भरिएको ठाउँका मानिसको जीवनमा त्यो सम्भावना किन पर्याप्त रूपमा रूपान्तरण हुन सकेन ? कर्णालीको प्रकृति, संस्कृति र उत्पादनलाई विकाससँग कसरी जोड्न सकिन्छ ? यी प्रश्नहरू बोकेर कर्णालीका धेरै ठाउँ घुमेको छु । जुम्ला पुगेको छु, सिंजाको इतिहास पढेको छु, गाउँबस्तीमा मानिसहरूसँग बसेर उनीहरूको जीवन बुझ्ने प्रयास गरेको छु । तर एउटा ठाउँ अझै बाँकी थियो रारा ।
मेरो लागि यो यात्रा दाङबाट सुरु भएको थियो । सुर्खेतमा एक रात मेरो मित्र दिपक हुम्लामै थिए यध्यपी शक्ती र सेर बहादुर भाईहरु सुर्खेतमै रहेकाले त्यो रात रमाइलो कुरा भोलिको योजना सहित बस्यौँ । हामी सुर्खेत–दैलेख कालीकोट हुदै जुम्ला तर्फ लाग्यौँ । साथमा साथी सन्तोषजी थिए । हामी दैलेखको माथिल्लो बाटो गुरासे मा रमाउदै तल्लो डुङगेश्वर बाट कर्णाली राजमार्गको यात्रा सुरु भएपछि सडकका घुम्तीहरूसँगै भूगोल बदलिँदै गयो । कतै पहाडको भित्तामा टाँसिएको सडक, कतै तल गहिरो खोँच, कतै कर्णाली नदीको साथ देखिने प्रत्येक दृश्यले मलाई केही न केही सुनाइरहेको जस्तो लाग्थ्यो । दैलेख पार गर्दै कालीकोटतर्फ जाँदा कर्णालीको भूगोल अझ कठोर देखिन थाल्छ । तर त्यही कठोर भूगोलभित्र मानिसहरूले बनाएका साना–साना संसारहरू झन् सुन्दर लाग्छन् । बाटोछेउका बस्ती, खेतबारी, पसल, विद्यालयतिर हिँडिरहेका बालबालिका, गाईवस्तु र दैनिक काममा व्यस्त मानिसहरू–कर्णालीको वास्तविक जीवन सडकको छेउछाउमै भेटिन्छ । कालीकोट पुग्दा हामीले त्यहाँको जीवनलाई नजिकबाट नियाल्ने अवसर पायौँ । दिउसो करिब १ः०० बजे कालिकोट सदरमुकाम मान्म पुगेर खान खायौँ । मान्मबाट करिब ४घण्टा मोटरबाट कर्णालीको सहायक नदी तिला र वरिपरिको भूगोलसँगै कर्णालीलाई बुझ्दै गाउँमा केहीबेर रोकिदै र त्यहाँका मानिससँग भलाकुसरी गर्दै जुम्ला सदरमुकाम पुगियो । जुम्ला पुग्दा साँझ परिसकेको थियो । जुम्ला सामान्य इतिहासको एउटा खुला किताब मात्र नभएर तिला नदी, मार्सीधानका खेत, स्याउका बगैँचा र हिमाली गाउँबस्तीबीच उभिँदा इतिहास र वर्तमान एकैपटक देखिन्छ । यो सबै दृश्यसंग साक्षातकार हुन पाउदा मित्र सन्तोष जी असाध्यै हर्षित थिए । मेरो जुम्ला यात्रा नयाँ थिएन म पहिल्यै धैरै पुगिसकेको थिए । त्यो दिनको थकानसँगै साँझ पुरानै बसिरहेको लोकश होटल सञ्चालक अंकल भिम वहादुर रावतको न्यानो आत्मियता जुम्लाको अर्गानिक परिकारको खानासंगै रम्न पाइयो । भोलिपल्ट बिहान जुम्लाका विभिन्न ठाउँतर्फ निस्कियौँ । मार्सीधानका खेत हेर्दै, तिलाको किनार पछ्याउँदै र गाउँबस्ती नियाल्दै हिँड्दा जुम्लाको आफ्नै लय भेटिन्थ्यो । यहाँको माटोमा कृषि केवल उत्पादन होइन, जीवनको एउटा आधार खेतहरुमा धान झुलिरहेको थियो भने कुनै ठाउँहरुमा मानिसहरु गोडमेल गरिरहेका सुन्दर दृश्य देखिन्थे । यिनै दृश्य जनजीवनमा रम्दै गुठीचौर पुग्दा त्यो अनुभूति झन् गहिरो भयो । हरियाली पाटनमा चरिरहेका भेडाबाख्रा,भैसी,गाईवस्तु,वरिपरिका पहाड,हिमाली खोलाबाट बगिरहेको चिसो पानी र स्थानीय जीवनको सरलता गुठीचौरले यात्राको थकानलाई नै हराइदियो ।
त्यहाँ जाजरकोटबाट ८ दिनपछि भैसी लिएर आएका विर बहादुर शाही दाजुसँग लामो कुराकानी भयो । उनले जीवनको वृतान्त सुनाउन भ्याए कतिबेला उनको जीवन संघर्ष हेर्दा आासुँ नै बग्दथ्यो । उनले भैसीबाट बनेको स्थानीय खानाको स्वाद दिए । कर्णालीका मानिससँग अपरिचित भएर पुग्दा पनि केही बेरमै आत्मीयता बन्ने कुरा मलाई सधैँ विशेष लाग्छ । यहाँको संस्कृति किताबमा पढेर मात्र बुझिँदैन; मानिसको व्यवहारमा अनुभूत गर्नुपर्छ । उनले हामिले पैसा दिन खोज्दा लिन मानेन तर मैले अनुरोध गरेर न्युनतम पैसा उनलाई दिए ।

बिहानै हाम्रो जुम्लाबाट मुगुको यात्रा अघि बढ्दा हामी सिंजाको भूगोलतर्फ लाग्यौँ । सिंजा मेरो यात्राको सबैभन्दा अर्थपूर्ण भूगोलमध्ये एक हो । खस सभ्यता र नेपाली भाषाको इतिहाससँग जोडिएको यो ठाउँलाई मैले वर्षौँदेखि अध्ययन गर्दै आएको थिएँ । तर त्यस दिन सिंजाका फाँट आफ्नै आँखाले हेर्दा किताबमा पढेको इतिहास अचानक जीवित भएजस्तो लाग्यो । विष्टवाडाका देवल,कनका सुन्दरी,विराट दरवार ,हाट सिंजा लगायत दजैनौ संरचना अवशेष र सिंजा सभ्यताको साँस्कृतीले पनि सिंजाको पहिचान कायमै राखेको छ । हिमा नदीसंगै काखमा रहेको सुन्दर फाँट, मार्सीधान, स्याउका बगैँचा, गाउँबस्ती, मानिसहरूको इतिहास केवल पुरानो कथा होइन भन्ने महसुस गराए । कुनै समय शक्तिशाली राज्यको केन्द्र बनेको भूगोल आजको सामान्य गाउँबस्तीमा रूपान्तरण भएको देख्दा मनमा फेरि त्यही प्रश्न उठ्यो–समयसँगै राज्यहरू बदलिन्छन्, शक्ति केन्द्रहरू बदलिन्छन्, तर के सम्भावना पनि यसरी नै हराउनुपर्छ ?
सिंजा हुँदै मुगुतर्फ लाग्दा बाटो अझ कठिन हुँदै गयो । कतिपय ठाउँमा सडक साँघुरो र अफ्ठ्यारो थियो । यात्राले शरीर थकाउँथ्यो, तर बाहिरको प्रकृतिले मनलाई फेरि ताजा बनाइदिन्थ्यो । जुम्लाको मालिकावोता गाउँ, सिप्टीचौर हुँदै अघि बढ्दा पहाडका आकृति बदलिँदै गए । कतै पाटन,कतै जंगल, कतै गाउँबस्ती र कतै चरिरहेका गाईवस्तु । भुलभुले सिप्टीचौरमा केहीबेर रोकियौँ । त्यहाँको खुला भूगोल, वरिपरि देखिने प्राकृतिक दृश्य र बाटोमा भेटिने यात्रुहरूको चहलपहलले मन रोक्न बाध्य बनायो । कर्णालीको यात्रामा एउटा अनौठो कुरा छ यहाँ गन्तव्यभन्दा बाटो नै धेरैपटक सुन्दर हुन्छ ।
मुगु सदरमुकाम गमगढी पुग्दासम्म दिनभरको थकान शरीरमा थियो । तर मनमा भने अर्को उत्साह थियो । अब रारा धेरै टाढा थिएन । त्यो रात मुगुमै बस्यौँ । भोलिपल्ट बिहानै रारा जाने तयारी भयो । बिहानै उठ्यौँ । नुहाइधुवाइ गरेर तयार भयौँ । खाना माथि नै खाने योजना थियो । हामी सल्लेरी पुग्यौँ र बाइक त्यहीँ रोक्यौँ त्यो भन्दा अनुमति छैन । त्यसपछि पैदल यात्रा सुरु भयो । करिब २५–३० मिनेटको बाटो थियो जंगलको शान्त वातावरण, पाटनमा चरिरहेका गाईवस्तु, वरिपरिका वनस्पति र चिसो हावाबीच हिँड्दै गर्दा मनभित्र एउटा छुट्टै उत्सुकता थियो ।
अनि अचानक रारा देखियो । त्यो क्षणलाई म कसरी वर्णन गरूँ? लाग्यो, प्रकृतिले आफ्नो एउटा छुट्टै संसार यहीँ बनाएर राखेको छ । नीलो पानी,चारैतिरको हरियाली, खुला आकाश, जंगल र पहाडको बीचमा फैलिएको विशाल ताल । म केहीबेर रोकिएँ । तस्वीर खिचेँ, भिडियो बनाएँ, तर मनले कैद गरेको दृश्य क्यामेराले कैद गरेकोभन्दा धेरै ठूलो थियो । रारा ताल समुद्री सतहबाट करिब २,९९० मिटरको उचाइमा रहेको र करिब १०.६५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यसको अधिकतम गहिराइ १६७ मिटर रहेको सरकारी विवरण छ । रारा राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना भएको हो र रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत भएको महत्वपूर्ण सिमसार क्षेत्र हो ।
तर त्यहाँ उभिएपछि तथ्यभन्दा ठूलो कुरा अनुभूति थियो । राराको किनारमा पर्यटकहरूको चहलपहल थियो । वरिपरि गाईवस्तु चरिरहेका थिए । कतै मानिसहरू गफ गरिरहेका थिए, कतै देउडा चलिरहेको थियो । म पनि देउडामा सहभागी भएँ । त्यो क्षण मलाई असाध्यै आत्मीय लाग्यो । राराको प्राकृतिक सौन्दर्य र कर्णालीको लोकसंस्कृति एउटै ठाउँमा भेटिएको थियो । कर्णालीलाई म जसरी बुझ्न खोजिरहेको थिएँ, त्यो दिन राराले त्यसको एउटा सुन्दर दृश्य प्रस्तुत गरिरहेको थियो । स्थानीयसँग कुराकानी भयो । पर्यटक कहाँबाट आउँछन्, कति आउँछन्, रारामा पर्यटनको सम्भावना कस्तो छ भन्ने विषयमा धेरै कुरा भए । त्यसपछि डुंगा चढ्यौँ । डुंगा पानीमाथि बिस्तारै अघि बढ्दै थियो । हामीले देउडा गीत गायौँ । डुंगा चालक दाइ लोकेन्द्र बहादुर वमसँग पनि लामो कुराकानी भयो । उहाँ डुंगा व्यवस्थापन समिति सचिव हुनुहुदो रहेछ । विदेशी पर्यटक कम भए पनि नेपाली पर्यटकको आकर्षण उल्लेख्य रहेको उहाँको अनुभव थियो । विशेषगरी दसैँ–तिहारको समयमा पर्यटकको संख्या बढ्ने रहेछ । डुंगाबाट रारालाई हेर्दा मैले महसुस गरे किन मानिसहरू यहाँ आउन चाहन्छन् भन्ने कुरा तस्वीरले बुझाउँदैन रहेछ । रारा हेर्नुपर्छ, रारा भोग्नुपर्छ ।

अन्तमा
राराको जैविक विविधता पनि यसको अर्को ठूलो सम्पत्ति हो । रारा राष्ट्रिय निकुञ्जमा विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुङ्गी पाइन्छन् । दुर्लभ असला माछादेखि वनस्पति र हिमाली जैविक विविधतासम्म रारा एउटा सम्पूर्ण प्राकृतिक प्रणाली हो । पर्यटक आउँछन् तर स्थानीयको जीवनमा पर्यटनबाट आएको लाभ कति पुग्छ ? रारालाई यहाँको कृषि, पशुपालन, स्थानीय खाना, देउडा, संस्कृति र स्थानीय मानिसको जीवनलाई पर्यटनसँग जोड्नुपर्छ । पर्यटकलाई रारा देखाएर मात्र होइन, कर्णालीको जीवन बुझाएर फर्काउने वातावरण बनाउनुपर्छ । सडक र यातायात सहज हुँदै जाँदा पर्यटक अझ बढ्न सक्छन् । तर पर्यटन बढाउनु र प्रकृति जोगाउनुबीच सन्तुलन मिलाउन सकिएन भने यही सौन्दर्य एक दिन समस्यामा पर्न सक्छ । फोहोर व्यवस्थापन,पर्यटकको चाप,स्थानीय पशुपालन र संरक्षणबीचको सन्तुलन तथा व्यवस्थित पर्यटन पूर्वाधारमा अहिले नै ध्यान दिन आवश्यक छ ।
हामी बिहान करिब नौ–दस बजेतिर रारा पुगेका थियौँ । साढे बाह्र–एक बजेसम्म त्यहीँ बस्यौँ । मलाई लागिरहेको थियो–महिनौँ रारासँगै बस्न पाए हुन्थ्यो । बिहान उठेर ताल हेर्न पाए हुन्थ्यो । रारामाथि देखिने हिमालसँग संवाद गर्न पाए हुन्थ्यो । तालको पानीसँगै बग्ने हावालाई महसुस गर्न पाए हुन्थ्यो । त्यहाँका माछा हेर्दै बस्न पाए हुन्थ्यो । स्थानीयसँग देउडा गाउन पाए हुन्थ्यो ।
मलाई कर्णालीका सम्भावना खोज्नु छ । यहाँको इतिहासभित्र लुकेका कथा निकाल्नु छ । सिंजाको विरासत बुझ्नु छ । खस सभ्यताको उत्थान र पतनका कारण खोज्नु छ । आजको कर्णालीको अभाव र हिजोको कर्णालीको वैभवबीचको दूरी बुझ्नु छ । राराजस्ता प्राकृतिक सम्पदाले स्थानीयको जीवन कसरी बदल्न सक्छन् भन्ने प्रश्नको उत्तर खोज्नु छ । रारा पुगेर मैले एउटा ताल मात्र देखिनँ ,मैले कर्णालीको सम्भावना देखे ।मैले प्रकृतिको सौन्दर्य देखें ।मैले संस्कृतिको आत्मीयता देखें ।मैले स्थानीय जीवनको सरलता देखे । र त्यसैसँगै विकासको आवश्यकता पनि देखे ।
कर्णालीलाई केवल पिछडिएको प्रदेश भनेर हेर्नु अन्याय हुनेछ । यो सम्भावनाले भरिएको प्रदेश हो । तर सम्भावना आफैँ विकासमा बदलिँदैन । त्यसका लागि राज्यको दृष्टि, पूर्वाधार, स्थानीय सहभागिता, संरक्षण र योजनाबद्ध लगानी आवश्यक हुन्छ । कर्णालीलाई बुझ्न त्यसका पहाड चढ्नुपर्छ, नदीसँगै बग्नुपर्छ, गाउँमा बस्नुपर्छ, मानिससँग कुरा गर्नुपर्छ र अन्ततः राराको पानीमा आफ्नो प्रतिबिम्ब पनि हेर्नुपर्छ रारा मेरो लागि अब एउटा ताल मात्र रहेन । यो मेरो यात्राको एउटा गन्तव्यभन्दा बढी, कर्णालीलाई अझ गहिरोसँग बुझ्ने अर्को सुरुवात बनेको छ ।
लेखक✏️टंक प्रकाश के सी युवा सामाजिक अभियानता तथा सञ्चार क्षेत्रमा आवद्व छन ।


