काठमाडौँ —नेकपा(माओवादी केन्द्र)को चर्को विरोध भाद्र ३० गते सम्म संसद स्थगित भएको छ। 
हिंसा शब्द सभामुखले आवश्यक अध्ययन गरेर निर्णय लिन भन्दै सचिवालयलाई निर्देशन दिएका थिए । सोही विषयको संसदमा बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको रेकर्डबाट नहट्ने रुलिङ गरेका थिए ।
सो रुलिङ संविधान विपरीत भएको भन्दै माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाएका हुन् । बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले रुलिङको विरोध गर्ने बताए । संविधान विपरीत हिंसा शब्द प्रयोग भएको भन्दै आफूहरूले त्यसलाई नमान्ने बताए ।
उनले भने, ‘हिंसाको विषयवस्तु संविधान विपरीत छ । कानुन विपरीत छ । यस्तो किसिमको शब्द हुनुहुँदैन भनेर हामीले बारम्बार कुराकानी गरेका छौँ । के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हो त्यसैले म फेरि पनि सचिवालयलाई संविधान, कानुनलाई हेरेर आफ्ना विषयवस्तुहरूलाई, निर्णयहरूलाई आग्रह गर्दछु । संविधान मुख्य विषयवस्तु हो । माओवादी जनयुद्धबारे जसरी संविधानमा उल्लेख भएको छ । जसरी शान्ति प्रक्रियामा कुरा उठेका छन् । यसमा नियतको विषयवस्तुको कुरा छ । माननीयले त्यो दिन जनयुद्धलाई होच्याउने र जनमुक्ति सेनालाई अपमानित गर्नुभएको छ । जुन व्याख्या आएको छ यसमा हाम्रो दल विरोध गर्दछ । बेठिक भएको छ । संविधानभन्दा माथि कोही छैन ।’
बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सभामुखको रुलिङप्रति माओवादी केन्द्रको गम्भीर आपत्ति रहेको बताए । उनले सो शब्द सच्याउन माग गरेको छ।
पुनः बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको रुलिङ संविधान विपरीत भएको भन्दै स्वीकार्य नहुने दोहोर्याए । उनले भने, ‘रुलिङ संविधान विपरीत । कानुन विपरीत । हामीलाई यो विषय स्वीकार्य छैन । संविधान बाहिर गएर व्याख्या गर्न मिल्दैन । संविधानको बर्खिलाप हुन्छ । यो हामीलाई मान्य छैन । यो विषय हुँदैन ।’
यसरी माओवादी केन्द्रले सभामुखको रुलिङप्रति असन्तुष्टि व्यक्त गर्दा प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिए छ।


