Skip to main content

Yug Post

भिमसेन थापा देखी केपि ओलि सम्म २१८ वर्ष शासन सत्ता संचालन गरेका ३८ जना यस्ता छन् प्रधानमन्त्री

Advertisement

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६  (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन।

नेपालका प्रधानमन्त्रीको इतिहास हेर्दा ३८ जनाले अहिलेसम्म ६३ पटक प्रधानमन्त्रीको हैसियतमा शासन सत्ता सञ्चालन गरिसकेका छन् । जसमध्ये ४ जनाले मुख्तियार, ४ जनाले मन्त्रिपरिषद् अध्यक्ष र ३१ जनाले प्रधानमन्त्रीका रुपमा सरकार चलाएका छन् ।

मन्त्रिपरिषद् अध्यक्ष र प्रधानमन्त्री दुवै भएर सरकार चलाउने सूर्यबहादुर थापा एक्ला नेता हुन् । यस्तै मुख्तियार र प्रधानमन्त्री भएर देशको बागडोर सम्हाल्ने फत्यजंग शाह एक्ला हुन् ।

यस्तै विभिन्न समयमा ५ पटक सरकारको बागडोर सम्हाल्नेमा थापासँगै स्वर्गीय गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा, ४ पटक प्रधानमन्त्री हुनेमा लोकेन्द्रबहादुर चन्द र केपी ओली छन् ।

३ पटक सरकार सम्हाल्नेमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्दछन् । ६ जनाले नेपालमा दुई–दुई पटक र २५ जनाले एक–एक पटक प्रधानमन्त्रीको हैसियतमा सत्ताको बागडोर सम्हालिसकेको इतिहास छ ।
नेपालको इतिहासमा भीमसेन थापालाई पहिलो प्रधानमन्त्री मानिन्छ । तत्कालीन समयमा अहिलेको प्रधानमन्त्री पदलाई मुख्तियार भन्ने गरिन्थ्यो । थापाले वि.सं.१८६३ देखि १८९४ सम्म सत्ताको बागडोर सम्हालेका थिए ।
उनीपछि पण्डित रंगनाथ पौड्याल (१८९४–१८९५), पुस्कर शाह (१८९५–१८९६) र रंगनाथ पाण्डे (१८९६–१८९७) र फत्यजंग शाह (१८९७–१९००)ले मुख्तियारका रुपमा शासन सत्ता सञ्चालन गरेका थिए
नेपालमा वि.सं. १९०० बाट मुख्तियार पदलाई प्रधानमन्त्री भन्न थालिएको हो । फत्यजंग शाहपछि सरकार सञ्चालनको कार्यभार लिएका माधवरसिंह (माथवरसिंह) थापाको पालादेखि प्रधानमन्त्री भन्न थालिएको इतिहास छ ।
उनी छैटौं प्रधानमन्त्रीका रुपमा १९०० देखि १९०२ सम्म रहेका थिए । माथवरसिंह थापापछि उनीपहिलेका मुख्तियार फत्यजंग शाह फेरि प्रधानमन्त्री भएका थिए । उनले १९०२ देखि १९०३ सम्म शासन सत्ता सञ्चालन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अभिलेखमा देखिन्छ ।

सातौं प्रधानमन्त्री फत्यजंग शाहपछि प्रधानमन्त्री बनाइएका जंगबाहादुर राणाले पहिलो पटक १९०३ देखि १९१३ सम्म र दोस्रो पटक १९१४ देखि १९३३ सम्म सत्ताको बागडोर सम्हालेको इतिहास देखिन्छ । उनै जंगबहादुरले बसालेको जगमा राणाहरुले नेपालमा १०३ वर्षसम्म जहानियाँ शासन चलाएका थिए ।

जंगबहादुरसहित १० जना राणाले नेपालमा पालैपालो प्रधानमन्त्री भएर सरकार सञ्चालन गरेका थिए । राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेर हुन । उनले २००५ देखि २००८ सम्म प्रधानमन्त्री भएर सरकार सञ्चालन गरेको प्रधानमन्त्री कार्यालयको अभिलेखमा देखिन्छ ।

जहानियाँ राणा शासनको अन्त्यपछि मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए । उनले २००८ देखि २००९ सम्म पहिलो पटक र २०१० देखि २०११ सम्म दोस्रो पटक सत्ता सञ्चालन गरेका थिए ।

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद (वीपी) कोइराला नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् । उनी २०१६ मा प्रधानमन्त्री भएका थिए । राणा शासन ढलेपछि प्रधानमन्त्री भएका मातृकादेखि पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीसम्म आइपुग्दा टंकप्रसाद आचार्य, डा. केआई सिंह र कांग्रेसकै अर्का संस्थापक नेता सुवर्ण शमशेरले पनि सत्ता सञ्चालन गरेका थिए ।

आचार्यले २०१२ देखि २०१४ र सिंहले २०१४ मा छोटो समयका लागि सत्ताको बागडोर सम्हाल्ने अवसर पाएका थिए । यस्तै कांग्रेसका संस्थापक नेता सुवर्णले २०१५ देखि २०१६ सम्म सरकार चलाएका थिए । उनी नेपालमा मन्त्रिपरिषद्को अध्यक्षका रुपमा सत्ता सञ्चालन गर्ने पहिलो व्यक्ति हुन् ।

उनीजस्तै डा. तुलसी गिरीले पनि मन्त्रिपरिषद् अध्यक्षका रुपमा दुई पटक सत्ता सञ्चालन गरेका छन् । गिरीले २०१९ देखि २०२१ सम्म पहिलो पटक र २०३२ देखि २०४३ सम्म मन्त्रिपरिषद् अध्यक्षका हैसियतमा सत्ता सञ्चालन गरेका हुन् । उनले दुवै पटक सत्ता सञ्चालन गर्दा नेपालमा एकदलीय पञ्चायती व्यवस्था थियो ।

मुलुक गणतन्त्रमा गइसकेपछि पनि एक पटक निर्ददीय व्यक्तिले मन्त्रिपरिषद् अध्यक्षको हैसियतमा सरकार सञ्चालन गरिसकेका छन् ।

पहिलो संविधानसभाबाट संविधान लेखन कार्य सम्पन्न गर्न दलहरु असफल भएपछि मुलुक प्रधानन्यायाधीश खिलराज रेग्मीको जिम्मा लगाइएको थियो । उनी नेपालको ईतिहासमै प्रधानन्यायाधीशबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्तिमा पर्दछन् ।

डा. तुलसी गिरीपछि सूर्यबहादुर थापाले पनि मन्त्रिपरिषद् अध्यक्षका हैसियतमा प्रधानामन्त्रीको पदभार सम्हालेको इतिहास छ । उनलाई राजा महेन्द्र शाहले २०२१ मा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गरेका थिए । २०२३ सम्म मन्त्रिपरिषद् अध्यक्षको हैसियतमा रहेका थापा कूल ५ पटक प्रधानमन्त्री रहिसकेका पहिलो व्यक्ति हुन् ।

मन्त्रिपरिषद् अध्यक्ष रहिसकेका थापालाई राजा महेन्द्र शाहले २०२३ देखि २०२५ सम्म प्रधानमन्त्री बनाएका थिए । उनी २०३६ देखि २०४०, २०५४ देखि २०५४ र २०६० देखि २०६१ सम्म प्रधानमन्त्री बनेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अभिलेखमा देखिन्छ ।

निर्दलीय पञ्चायती व्यवस्थामा थापापछि २०२५ मा कीर्तिनीधि विष्ट पहिलो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनले २०२८ देखि २०३० सम्म दोस्रो कार्यकाल र २०३४ देखि २०३६ सम्म तेस्रो कार्यकाल सत्ता चलाएका थिए ।

नेपालमा तीन पटक प्रधानमन्त्री बन्ने अर्का व्यक्ति हुन्– पुष्पकमल दाहाल ‘प्रचण्ड’ । राज्यविरुद्ध १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको नेतृत्व लिएका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि पहिलो पटक २०६५ मा प्रधानमन्त्री नियुक्त भएका थिए । नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरणमा राजीनामा दिन बाध्य भएका उनी २०७३ मा फेरि प्रधानमन्त्री भएका थिए ।

प्रचण्डले प्रधानमन्त्रीका रुपमा २०७३ साउन १९ देखि २०७४ जेठ २३ सम्म दोस्रो कार्यकाल चलाएका थिए ।

प्रतिनिधिसभा निर्वाचनबाट प्रचण्डको पार्टी तेस्रो दलको हैसियतमा पुगे पनि उनी २०७९ पुस १० गते फेरि प्रधानमन्त्री बनेका थिए । प्रचण्डको तेस्रो कार्यकाल यही असार २८ गते सकिएको छ । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेसँगै उनी पदमुक्त भएका थिए ।

फत्यजंग शाह, जंगबहादुर राणा, मातृकाप्रसाद कोइरालाजस्तै दुई पटक प्रधानमन्त्री बन्ने व्यक्तिमा नगेन्द्रप्रसाद रिजाल र कृष्णप्रसाद भट्टराई पर्दछन् । रिजालले मुलुक पञ्चायती व्यवस्थामा छाँदा २०३० र २०४२ मा गरी दुई पटक प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए ।

कांग्रेसका संस्थापन नेता भट्टराई पञ्चायती व्यवस्था ढलेपछि २०४७ मा गठित अन्तरिम सरकारको पालामा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । उनी २०५६ को आमनिर्वाचनपछि दोस्रो पटक प्रधानमन्त्री भएका थिए । कांग्रेसभित्रको आन्तरिक कलहले भट्टराई लामो समयसम्म सरकारमा टिक्न सकेनन् ।

कांग्रेस नेता भट्टराईले २०४७ मा अन्तरिम सरकारको नेतृत्व लिनुअघि नेपालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री (२०४६–२०४७) थिए । तत्कालीन समयमा उनी दोस्रो पटक शासन सत्ता सम्हाल्ने गरी राजा वीरेन्द्र शाहबाट मनोनित प्रधानमन्त्री थिए । चन्द २०४० सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । उनको पहिलो कार्यकाल २ वर्षसम्म चलेको थियो ।

पञ्च नेता चन्द मुलुकमा प्रजातन्त्र आइसकेपछि पनि दुई पटक प्रधानमन्त्री बनेको इतिहास छ । उनीसँग २०५३ मा तेस्रो पटक र २०५९ मा चौथो पटक प्रधानमन्त्री बनेर शासन सत्ता सञ्चालन गरेको अनुभव छ । प्रजातन्त्र आइसकेपछि प्रधानमन्त्री बन्दा चन्दले झण्डै–झण्डै एक–एक वर्षमात्रै सरकार चलाउन पाएका थिए ।

एक पटकमात्र प्रधानमन्त्री बन्ने पञ्चायतकालीन नेतामा मरिचमान श्रेष्ठ पर्दछन् । उनले राजा वीरेन्द्र शाहको शासनकालमा तीन वर्ष प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । श्रेष्ठ २०४३ देखि २०४६ सम्म प्रधानमन्त्रीका रुपमा रहेका थिए ।

जनआन्दोलनको बलमा प्रजातन्त्र पुनस्र्थापना भएपछि सम्पन्न पहिलो आम निर्वाचनपछि गठित सरकारबाट गिरिजाप्रसाद कोइरालाको नेपालको संसदीय राजनीतिमा अभ्युदय भएको पाइन्छ ।

२०४८ देखि २०५१ सम्म प्रधानमन्त्री भएर शासन सत्ता सम्हालेका कोइराला ५ पटक प्रधानमन्त्री हुने दोस्रो नेता हुन् । उनी २०५४ मा दोस्रोपल्ट, २०५५ मा तेस्रोपल्ट, २०५६ मा चौथोपल्ट र २०६३ मा पाँचौँ पल्ट प्रधानमन्त्री भएका थिए ।

नेपालमा पाँच पटक प्रधानमन्त्री हुने तेस्रो नेता हुन्– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । २०५२ मा पहिलो पटक प्रधानमन्त्री भएका उनी २०५८, २०६१, २०७० र २०७८ गरी ५ पटक प्रधानमन्त्री भइसकेका छन् ।

मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र सुशील कोइरालाले विभिन्न समयमा एक–एक पटक प्रधानमन्त्री बनेर मुलुकको बागडोर सम्हालिसकेका छन् ।

अधिकारी २०५१ मा, नेपाल २०६६ मा, खनाल २०६७ मा, भट्टराई २०६८ मा र कोइराला २०७० मा प्रधानमन्त्री भएका थिए । कोइरालाकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालमा संविधान जारी भएको थियो ।
जंग बहादुर राणा जस्ता निरंकुश शासकले ३० वर्ष सत्ता संचालन गरे जसको जगमा राणाहरुले १०३ वर्ष सत्ता संचालन गरे त्यसपछि प्रजातन्त्र आएसँगै मातृकाप्रसाद कोइराला ,विपि कोइराला हरुले जग बसाले पछि गिरिजाहरुले लामो समय सत्ता संचालन गरे । पञ्चायत कालमा डा तुल्सी गिरि सुर्य बहादुर थापा र गणतन्त्र आएपछि प्रचण्ड ,बाबुरामह र केपी ओलिले सत्ता संचालन गर्दा सम्म २१८ वर्ष सम्म बितेको छ। २१८ वर्षमा पहिले सत्ताको विपक्षमा जनयुद्ध संचालन गरेर ८० प्रतिशत भुभागमा जनसत्ता संचालन गरेर फेरि सत्ताको बागडोर संचालन गरेको पुष्पकमल दाहाल प्रचण्ड मात्र हुन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search