शब्दका अर्थ र मर्म समयसँगै फेरिदै जान्छन् । फेरिएका मर्मसँगै कर्मका नयाँ परिभाषा सुरु हुन्छ । गुरु र शिक्षक फरक भएझैँ विद्यालय, शिक्षालय जस्तै शिक्षा र विद्या पनि फरक हुने नै भए । शिक्षित र विद्वानलाई पनि फरक तरिकाले बुझनु पर्ला । शिक्षाका तरिका, अवस्था फरक भएपछि नैतिक मूल्य र मानवीयताका रुप र अभ्यास पनि फेरिने भएनै ।
जिज्ञासाले ज्ञानको खोजी गर्दैजाँदा श्रम र शक्तिको नयाँनयाँ अभ्यासमा मानव सभ्यता विकास हुँदै गयो । विकसित चेतना र विवेकले मान्छेका अन्तरनिहित क्षमतालाई जीवन व्यवहारसँग सम्बन्ध जोडदै लैजान्छ । उत्पादनका साधन, श्रोत र स्वामित्वमा आउने हेरफेरले मान्छेका सोच फेरिइरहन्छन् । त्यसका असर र प्रभाव सामाजिक मूल्य, मान्यता, शिक्षा, आदर्श र नैतिकतामा पर्छ । सधैँ एकैनास नरहेर नयाँ मानक तयार भैरहन्छन । ज्ञानका क्षेत्रफल फैलावटसँगै तत्कालीन अवस्था र व्यवस्थाले सोच फरक ल्याँउदा कालान्तरमा समाजिक चरित्र बन्न पुग्छ । त्यसका प्रभाव दर्शन, इतिहास र साहित्यमा देखा पर्दै जान्छन् । तव रहस्य, चमत्कार छर्लांगएपछि विश्वासले पनि नयाँ परिक्षा दिनुपर्छ ।
शिक्षाले भिडको मान्छेलाई नागरिकमा फेर्छ । अधिकार, स्वतन्त्रता र समानताको अभ्यास गर्दै, तार्किक विश्लेषण गरेर निणर्य लिने, तथ्य आधारित तर्क गर्ने क्षमता विकास गर्छ । आँखालाई दृष्टिमा फेरेर दृष्टिकोण निर्माण गरिदिन्छ । नैतिक आचरण प्रोत्साहित गरेर सामाजिक सद्भाव पैदागरी आधुनिक ज्ञान, सीप, सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने आत्माबल दिन्छ । स्वावलम्बी, व्यवसाय सीपको कुशल अभ्यास गर्ने मान्छे बनाईदिन्छ । समाज स्वीकार्य नैतिक आचरण विकास गर्न संस्कृतिको अवलम्बन गर्ने सहिष्णु नागरिक तयार गर्छ । समसामयिक चुनौतीको सामना गर्दै परिवर्तनमुखी र चिन्तनशील मानव तयार गर्छ ।
शिक्षा र विद्याबारे केही कुरा
सभ्यता विकाससाथै जिज्ञासा र चेतना मान्छेका अदृश्य अंग बने । लिपि, लेखनकला विकासले ज्ञानको युगिन हस्तान्तरण शिक्षा मार्फत हुँदै गयो । अझ कागजको आविस्कारसंगै ज्ञान विस्तारमा शिक्षाको महत्वपूणर् भूमिका रह्यो । संसारका विभिन्न भागमा लिपि पढ्न सकिए । तर, अझै पुरातत्वविद्हरूले हडप्पा र मोहोन ज दोडोका लिपि भने पढ्न सकेका छैनन् । आर्यहरू यसभेगमा आउनुअघिको समृद्दि सभ्यताको इतिहास अहिले पनि गर्भमै छिपेको छ ।
सुमेरियन भाषाको लिखित इतिहास लगभग पाँचहजार वर्ष पुरानो हो । सबभन्दा पुरानो लिखित अभिलेख पनि मेसोपोटामियामा अहिलेको फारस अर्थात इराक ३हजार ५सय ईसापूर्व आसपासको हो । यसभन्दा अरु प्राचीन भाषामा मिस्रको हिएरोग्लिफिक, संस्कृत, प्राचीन चीनी, प्राचीन यूनानी, प्राचीन लैटिन भाषाहरु पर्छन । संसारको पहिलो लेखाई मेसोपोटामियामा माटोको पाटीमा खपटा लेखिन्थे ।
हरेक विषयको कालखण्ड गणना गर्न अब पुरातत्वविद् र इतिहासविद्लाई कार्वन विधिले सहज तुल्यायो । कुन युगका पुर्खाका ज्ञान, सीप, शिक्षा, आविश्कार कस्ता थिए भनेर कालगणना गर्न कल्पनाशास्त्रको भर पर्नु परेन । सभ्यता र संस्कृतिको अध्ययन गर्न थाल्दा समाजमा हलोको फाली विकास र यौन सुचितालाई त्यो समाजले कसरी संस्कृतिसँग जोडेर लग्यो भन्ने म सूक्ष्म अध्ययन गर्ने कोसिस गर्छु ॥
सुरुमा गुरुकुल शिक्षा( मन्दिर, विहार, गुठी, गुम्बा वा गुरुगृहमा दिने चलन थियो । त्यहाँ माटाका खपटा, ताम्रपत्र, भोजपत्र, शिलालेख जस्ता हस्तलिखित सामग्री संग्रह गरिन्थे । ज्ञान प्राप्तीका तरिका समय अनुसार फेिरँदै गए । त्यसै अनुसार चेतना उन्नत हुँदैजाँदा नैतिकता मानक पनि बदलिँदै गयो।
विसं १४१४ मा दैलेखको दुल्लुमा नेपाली भाषाको पहिलो अभिलेखमा शिक्षा, धर्म प्रसार र राजकीय गतिविधिमा केन्द्रित थियो । पण्डितहरू ज्ञान र शिक्षाका मूल स्रोत थिए । गोरखाका राजा राम शाहको न्याय पद्धतिमा थप मध्यकालीन शिक्षाको व्यवहारिक अभ्यास गरे ।
पुस्तकालय कितावको गोदामघर नभै ज्ञान र शास्त्रको केन्द्र हो । आधुनिक नेपालमा पृथ्वीनारायण शाह (१७७९) (१८३१) युद्दकालमा संकलन गरेका अनेकौँ दश्तावेज हनुमानढोका दरबारमा राख्न लगाए । वि।सं। १८६९ भाद्र १५ गते ‘पुस्तक चिताई तहबिल’ नामक नेपालको पहिलो औपचारिक पुस्तकालय स्थापना भयो । त्यो शिक्षाभन्दा पनि ज्ञान केन्द्र थियो । सामान्यजनभन्दा अभिजाततप्का मात्र त्यहाँ अध्ययन गर्न पाँउथे।
अब हामी विद्या, बुद्धि र शिक्षाबारे थप चर्चा गरौँ । सूक्ष्म शारीरिक अंगको बुद्धि, एक परभौतिक अंग हो । चेतनाका विविध आयामहरूको अन्तिम सञ्चितनिधि विद्या हो । विद्या र बुद्धि फरक विषय हुन । केही अन्तर पनि छन् । विध्याले विवेकसम्मत ज्ञान बढाएर मानवीय दायित्वको विकास गर्छ भने शिक्षाले कार्यकुशल आधुनिक जनशक्ति तयार गर्छ । विद्याले व्यक्तिलाई विद्वान बनाउने बाटोमा हिँडाउँछ । थप यसरी भन्न सकिन्छ ( ज्ञान हृदयसँगै जोडिएर जीवनलाई प्रभाव पार्छ भने शिक्षा चेतनासँगै मष्तिष्कमा जोडिएर काम गर्छ ।
संक्षिप्तमात्रै भन्नुपर्दा (विद्या त्यो प्रक्रिया हो, जो शिक्षाद्धारा पाइन्छ । ज्ञानप्राप्तिको प्रकृया निरन्तरको अनुभव, सिकाइ र अभ्यासले मात्र संभव हुन्छ । जिज्ञासाको भोक नै ज्ञान उत्पादनको कारखाना हो । वैदिक कथामाला छोडने हो भने पनि हामीले मिश्र, युनानी, नालन्दा, तक्षशीला, फारसी र कम्फुसयिसका ज्ञानशाला नियाल्न सक्छौ । हावर्ड, अक्सफोर्ड जस्ता विश्वविद्यालयले पनि आफ्ना गौरवताको निरन्तरता दिन अहिले चुनौति झेलिरहेका छन ।
आधिकांश विश्वविद्यालय ज्ञान र बुद्दिसंग कम, दक्षजनशक्ति उत्पादनमा अहिले केन्द्रित छन । शिक्षासँग धेरै पुस्तकीय ज्ञान, सूचना संग्रह र डिग्रीसँग सरोकार रहन्छ । त्यसैसँग शारीरिक सुखभोग जोडिन्छ पनि । विधागत दक्षताकालागी तथ्य र अनुभवं मार्फत जानकारी समृद्द गर्छ ।
ज्ञानले तिरेको मूल्य र बेहोरेको दण्ड
सामाजिक डार्विनबाद हावी भएर सक्षमले शासन गर्ने शक्तिभाषाले औचित्य पाउँदै गएपछि मानवताका अर्थ फेरिँदै गए । तर, आजको ज्ञान र विज्ञानको विकास सित्तै आएको भने हैन । दार्शनिक, ज्ञानी, चिन्तक, वैज्ञानिक र साहित्यकारले धेरै ठूलोमूल्य तिरेका छन । २१वा शताब्दीको मान्छेहरु उनीहरुकै अपताली खाएर तुजुक देखाउन पाएका हुँन ।
ज्ञानले सत्यबोधको क्षमता विकास गर्छ तर सत्ताले स्वीकार्न भने सक्दैन । तव कवि, ज्ञानी र वैज्ञानिक दण्डित हुँनपुग्छन् । ज्ञानले हरेक कालखण्डमा जिज्ञासा उमार्यो । किन र कसरी भन्ने प्रश्नले तथ्यमाथि प्रश्न गरेर भीडलाई मान्छेमा फेर्ने काम गर्यो ।
हाम्रा ज्ञान परम्ंपरामा श्रृषी चारवाकलगायत लोकायतवादीलाई उछित्तो खनेर उल्याइयो भने जसलाई सत्ताले पचाउन सकेन मूलतत्व निशेध गरेर त्यसलाई भगवान बनाएर आफनो बनायो । पश्चिमाहरुमा कोपर्निकसका विचार र सक्रियताले बुढो युरोपेली समाजको मस्तिष्कमा घन ठोक्न पुग्यो । अझ ब्रुनोले वैज्ञानिक र धार्मिक सर्कलहरूमा शास्त्रीय युगको अन्त्यदेखि धार्मिक सिद्धान्त बनेका धेरै विश्वासहरूलाई चुनौती दिए । पोप क्लेमेन्ट आठौंको आदेशले विधर्मीको रूपमा सजाय दिइयो । फेब्रुअरी ८, १६०० मा, उनलाई मृत्युदण्डको सजाय सुनाइँदा जिउँदै जलाउने फैसलादिने न्यायाधीशहरूलाई ब्रनोले भने(ममाथिको फैसला सुनाउँदैगर्दा तपाईँहरू अत्यन्तै डराइरहेको देख्दैछु ।“
पृथ्विले शुर्यको परिक्रमा गर्छ भन्ने ग्यालिलियो ग्यालिलीको माथी लगाइएको आरोप र दिईएको दण्ड गलत थयो भन्न पनि इसाई चर्चलाई ३ सय ५९ वर्ष लाग्यो । अक्टोबर ३१, १९९२ मा, पोपले औपचारिक रूपमा ग्यालिलियो केसको लागी माफी मागे । इस्लाम र इसाईमा इस निन्दक भनेर बैज्ञानिक चिन्तक माथीको आक्रमण ज्ञानमाथीको भयानक प्रहार अझै निरन्तर चल्दैछ ।
मकैका खेतीका लेखक कृष्णलाल अधिकारी ज्ञानकोलागी दण्ड बेहोरेर मूल्य तिरेका हाम्रा ज्ञान शहिद हुँन । सत्ता र अन्धविश्वासकालागी कवि र दार्शनिक दुश्मन हुन्छन । स्पार्टाकस कपुवाका सडक किनारमा झुक्याइन्छन् । इसाले सुली चढनु पर्छ । जियोड्रानो ब्रुनो ज्युदै जलाइनु पर्छ । तर ज्ञानको दुरुपयोग संसारै भरी छन पनि । अज्ञानी भएर नभै ज्ञानका दुरुपयोग र भ्रटिकरण गरेर शिक्षित मान्छे क्रुर बनेको पाइन्छ । आर्य श्रेष्ठता कायम गर्न लागेको एडल्फ हिटलर निजी जिन्दगीमा भने धुर्ममान विरोधी, शाकाहारी थियो । संगीत र पेन्टिङ रुचाउँथ्यो । महान व्यंग्यकार चार्ली च्यापलिनको प्रशंसक पनि थियो । अझ एटम बम बनाउने टिम नेता रॉबर्ट ओपेनहाइमरले जापानको हिरोसिमा,नागासाकीमा भएको नरसंहारपछि विक्षिप्त भएर राष्ट्रपति ट्रूमैनसंगको भेटमा भने “ मलाई लाग्छ कि मेरो हात लाखौँ निरपराध मान्छेको रगतकोे दाग लागेकोछ ।” त्यसपछिको म्याकार्थीकालमा उनलाई कम्युनिष्ट भनेर सताइयो, सुरक्षा खोसियो । अन्तमा डिमेंशिया प्राइकॉक्स रोगबाट उम्कन सकेनन, पस्चतापमै इहलिला समाप्त भयो ।
शिक्षित भएरमात्रै त हुँदो रहेनछ त
एउटा पुस्ताका अज्ञानता, बेकुफी, भ्रम, र विश्वास अर्को पुस्तामापुग्दा संस्कृति बन्न थाल्दोरहेछ । अझ अन्धविश्वास धनी, शासक र शिक्षितलाई चरित्रनायक बनाउने सामान्यजन मुर्खतामा गुज्रिनु थाल्छन । त्यसको ज्यादा असर भाग्वादी शिक्षत मूर्खहरुमा पर्छ । मूर्खताको चिनारी अनपढ हुनु मात्रै हैन् शिक्षित मुर्ख संसारै भरी छन । संस्कृतिका नाममा मुर्खतापूणर् कामको अन्धविश्वासको निरन्तरता दिनेहरु बिरालाले बाटो काटदा, खाली गाग्रो देख्दा साइत बिग्रिन्छ भन्नेहरु यो युगमा पनि कम छैनन
सभ्यता र दर्शनको युरोपेली केन्द्र इटिलीका शिक्षितहरूका अन्धविश्वास पनि हाम्रा भौतिकी प्रोफेसरहरूको शनि ग्रह मुक्त हुन कालो ध्वजा, कालो अक्षता लिएर संकटा परिक्रमा गरेको भन्दा कम छैन ।
इसाईहरूको विश्व केन्द्र भ्याटिगन सिटी रहेको महान वैज्ञानिक ग्यालिलियो ग्यालेली ९ गैलीलियोको माझी औंला अहिले पनि सङ्ग्रहालयमा राखिएको छ ०, महान चित्रकार लियो नार्डो भिन्सी, वास्तुकलाकार, चित्रकार, मूर्तिकार एवं महान कवि माइकल एन्जेलो, आधुनिक युरोपेली चाणक्य निकोलाई माइकावेलीको इटालीको फ्लोरेन्स शहर जन्मथलो हो । त्यही शहरको अन्धविश्वास केही नमुना नियालौँ । टोपी ओछ्यानमा राख्नु भनेको घरमुलीलाई दुर्भाग्य निम्त्याउनु मानिन्छ । नुन पोखियो भने तुरुन्तै उठाएर पिठ्यूमा छर्किनु, तेल पोखिए पुरै ध्वस्त हुनु मानिन्छ तर तेल कोसेली दिनु भनेको दिनेको सौभाग्यको ढोका खुल्नु हो । कालो बिरालोले बाटो काटनु त बोक्सी र राक्षसको रुपमा लिइन्छ । घरभित्र छाता खोल्नु, टोष्ट प्रस्तावमा नजर झुकाउनु हुँदैन । अंक १३ र १७ बाट जोगिनु, अशुभता टार्न खल्तीमा सानै भएपनि राखिएको फलाम वारम्वार छुनु, नभए चोरऔला र कान्छी औलाले पशुका दुई सिग बनाएर इसारा गर्नु, रक्सीको बोतल पुरै खाली नगर्नु, मोतीको उपहार नदिनु हुन्छ । गरेमा दुर्भाग्य निम्तिन्छ भन्ने विश्वास गरिन्छ । अझ अस्पताल र अन्तिम संस्कार बाहेक मिलान शहरमा नमुस्कुराउनु गैरकानूनी हो । इबोली शहरमा कारमा म्याँई खानु गैरकानूनी मानिन्छ । चिहान सकिएका कारण कैम्पिलानिया गांउको फालसियानो डेल मासिको मा मर्नु पनि गैरकानूनी हो । यदि त्यहाँ मरिन्छ भने परिवारले दण्ड तिर्नुपर्छ ।
शिक्षित कामदारको उत्पादन
शिक्षाको ध्यय विध्यार्थीका अन्तरनिहित क्षमता विकास गराउनु र प्रतिकूलतामा पनि उभिन सक्ने व्यक्तित्व निमाणर् गर्नु पर्ने हो । शिक्षित, ज्ञानी वा विद्धान फरक हुँन । शिक्षाले अहंकार भरियो भने मान्छेका सामाजिक चरित्र गुमेर श्रेष्ठ मानव सोच्न थाल्छ । विद्धताको प्रमाणपत्र विश्वविद्यायालयमा नभै, जीवनकर्म मात्रै हुन्छ भने शिक्षित मानक प्रमाणपत्रमा हुँनेगर्छ । विधागत दक्षता त हुनै पर्यो ।
अहिले पाठ्यसामग्रीमा इतिहास, समाजशास्त्र, नैतिकता, संस्कृतिले अर्थ राखेन । अभिभावक र विद्यार्थीको चासो पनि रहेन । फ्याकल्टी बन्द हुन थाले । अंग्रेजी, विज्ञान, व्यवस्थापन, इन्फरमेसन टेक्नोलोजी आईटी विध्यार्थी रोजाईको विषय रह्यो भने १२ पासपछि विदेश लाग्ने जीवनलक्ष हुनथाल्यो ।
हाम्रो शिक्षा महत्वकांक्षा, तुलना र प्रतिस्पर्धामा टिकेको छ । सुखी जीवन जिउने कला मानिएकोले शिक्षाले अन्य मुलकको श्रमबजारमा बिक्ने ह्वाइटलेवर मानिन थालियो । विध्यादान नभै शिक्षा व्यापारमा फेरिए । सामाजिक चरित्र
सूचना र प्रविधि विकाससाथै संसार विश्वग्राममा फेरिइसक्यो । भिसारहित समाज बन्दैगयो । राज्यका सीमाले मान्छे देशाटन गर्न रोकिएनन् । सभ्यताका सुन्दर र कुरुप विषय पनि सहजै भित्रिन थाले । ज्ञान र सूचना शक्तिको नियन्त्रणमा रहेन । एकअर्काका चाडपर्व, मान्यता, सोच, कला, साहित्यको पहुँच सहज भएकाले जीवन अभ्यासमा देखिँदै गए । प्रविधिले भाषालाई अनुवाद हुन सहज गरायो । ८६ देशमा त आप्रवासी नेपालीको संगठन नै छ । असंगठित त अरु देशमा पनि होलान् । त्यहाँका चालचलन, मान्यताले हाम्रो समाज र नैतिकतामा प्रभाव पार्छ नै ।
उपभोक्तावादले सोचमै पहिलो हस्तक्षेप गर्छ । खुशी बेचेर किस्तावन्दीको सुख किन्दै तुजुक देखाउन उत्तेजीत मध्यमवर्गले नयाँ न्यारेटिभ तयार गरिरहेका हुन्छन । सकारात्मक परिवर्तन, फेरिएको अवस्थामा पनि नैतिक र मानवीय सोच विकास हुन नसक्नुमा स्वकेन्द्रित शिक्षित भिड पनि कारकपक्ष हो । त्यो तप्का मूल्य नतिरी सुविधा सम्पन्न, आधुनिक र राजनीतिको केन्द्रमा पनि पुग्न चाहान्छ । ती समामाजिक सञ्जालमा कुण्ठा र आग्रह बनेर छताछुल्ल भैरहेका हुन्छन ।
हाम्रो समाजको अवस्था भनेको नायक खलनायकमा फेरिएको देखेर पनि घृणा र प्रतिकार नहुँनु हो । गरिबमा परिवर्तनको अगुवायी गर्ने चेतनाको अगुवाई नभएर हिम्मत हराउँदै गएको छ, मध्यमवर्गमा एकातर्फ फुर्सत छैन अर्कातर्फ समाजिक विषयमा सरोकार राख्दा के फाइदा हुन्छ रु भन्न थालेका छन । धनाढ्यहरूको न धर्म हुन्छ, न राष्ट्रियता रु उनीहरुमा सामाजिक सरोकार र नैतिककताको कुनै अर्थ र आत्मिकमहत्व हुँदैन । सम्पन्न देशमा पहिचान गुमेकाले विदेशिएका अधिकांस अकुत धनाढ्यहरू पनि मूल देशमा राजनीतिमा चुरीफुरी देखाउन वा पैत्रिक सम्पतिमा हक जमाउन मात्रै सरोकार राख्छन ।
नैतिकता भनेको मानव चालचलन र भूमिका सही र गलत खुट्याउनु हो । नैतिकताका आधार व्यक्तिको सम्मान, उपकार र न्यायको पक्षमा उभिनु हो । मिथक र वैदिक साहित्यका कुरा नगरी लिखतइतिहासमा पहिलो प्रयोग युनानी दार्शनिक सुकरातले एथेन्समा ९४७० (३९९ ईसापूर्वमा) गरे । सत्य अध्ययनको सार र विश्वासको मूल्य हेमलेक विषपान गरेर नयाँ सन्देश दिए । प्लेटो त ज्ञानको विस्तार गर्दा राजाले दासमण्डीमा बेचिदियो पनि । समयसंगै संगत स्वभाव बनेर मान्छेलाई नित्यनयाँ बनाइरहन्छ । स्वभावले नैतिकताको मानक तयार गरेर नयाँचरित्रमा ढाल्दैलान्छ । आफैँले बनाएका मानकका बन्दी बन्दै गएपछि नयाँ आदर्शले नयाँनयाँ तर्क निर्माण गर्छन । त्यसको परिणाम नायक वा खलनायक बन्न पुग्छ । आचरणसँगै फेरिँदैजाँदा कुन समयमा को, कस्तो थियो भन्नुभन्दा पनि जीवनको उत्तरार्धमा कस्तो आचरणमा रह्यो भनेर नै इतिहासले मूल्यांकन गर्ने गर्छ ।सामाजिक मूल्य र अरूको व्यवहार नियालेर नैतिकता अनुसरण हुन्छन । अरूको आचरण हेरेर आफूलाई समृद्दि बनाईन्छ । कानुनी नियम कार्यान्वयनले पतन रोक्न मद्दत गरेता पनि वाध्यतामा नभै स्वजागृत अन्तरनिहित व्यवहार नै नैतिकताका आधार हुन्छन । नैतिक मान्छेहरुका भ्रष्ट चरित्र सार्वजनिक नभईन्जेल ऊ सामाजिक नायक वा नैतिकमा भने दरिइरहन्छ ।
हाम्रा मूल्य, मान्यता, आदर्श र गतिविधिका सोच निर्माण, भूमिका, नैतिकताका आधार एवं निर्धारण, सामाजिक चरित्र र आदर्श नियाल्दा तिन शताब्दीको सम्मिश्रणको परिणाम बन्यो । उन्नाइशौ, विशाँै र एक्काइशौँ अर्थात तिन शताब्दीको रिमिक्स सोचबाट एकैपटक प्रभावित भैरहेका छौँ । पुराना चालचलन, सोच, मान्यता र आदर्श छाडन पनि नसक्नु र समग्र नयाँ हुन पनि नसक्नु मनोभाव र चरित्र बने । सामन्तवादी संस्कृति, विज्ञानवादी चिन्तन र उपभोक्तावादी अवस्थाको घालमेलले चिन्तन र जीवन अभ्यासमा असर पारिरहेको मात्रै हैन् निर्देशन पनि गरिरहेको छ ।
राशीफलबाट शुभअशुभ खुटयाउनु, डिलक्स होटलको ककटेल र बफे पार्टी चलाउनु, सूचनाप्रविधीको उच्चतम उपयोग गरेर प्रवाासिएको सन्तानको जुम वार्ताबाट न्वारन गराउनु उदाहरण बने । मध्यमवर्गका तुजुक त तिन सताव्दीको रिमिक्स संस्कृति बन्न पुग्यो ।
अहिलेको सामाजिक सौन्दर्य भनेको खुशी, स्वाभिमान, पहिचान र आदर्श गुमाएर पनि सुखको खोजीमा भौँतारिनु बन्दै गयो । उपभोक्तावादी समाजमा नित्य नयाँ देखिनु पर्ने, विलासिता र तुजुक प्रर्दशनले ठुले बन्ने सोख जाग्दैछ । कसैगरी पनि धन र शक्ति पाउनु पर्छ भन्ने भाष्य तयार हुँदै गयो । खल्तीमा रहेको पैसो दिमागमा पुगेपछि नैतिकता भन्ने शब्द र आचरण स्यालको सिग बन्न पुगे । शक्तिशाली र धनी भएपछि हिजाका अपराध ड्राइक्लिनर्स बनेर महान बनिन्छ भन्ने हिम्मत पलाएपछि हरेक चिज किन्न र बेच्न सकिन्छ भन्ने कथ्य तयार हुँदैगयो । अझ क्लेप्टोक्रेसी भ्रष्टतन्त्र भएको देशमा आचार, विचार र व्यवहारमै आउने र हुने भ्रष्ट चिन्तनलाई पौरखताको अर्थमा परिभाषित गरिदिएपछि नैतिकताका परिभाषा पनि फेरिने नै भए । तब शिला खोजेर भेटिने आदर्शवादीलाई मूर्ख या बौलाहाको संज्ञा दिईँन थालियो ।
यस तिन शताब्दीको ज्ञान, शिक्षा र नैतिकताका अर्थ र परिभाषा एउटै डालोमा हाल्दा जुन तस्विर बन्छ त्यसका चित्र र चरित्र हाम्रा विकसित नैतिकता र आदर्शमा देखिन्छन । त्यसका प्रतिविम्ब साहित्य, कला, मान्यता, चालचलन, राजनीति, सार्वजनिक बहस र भूमिकामा पर्दै गए । समाजको मूलचरित्र अनुसार नैतिकताका मानक बन्छन् र भत्कन्छन् ।
शिक्षाले भिन्नभिन्न ज्ञानलाई एकत्र गरेर विशेष ज्ञान र कौशलतालाई समर्पित व्यक्ति बनाउदै समाजको चरित्र नायकमा फेरिदिन्छ । उसलाई समाजले पछ्याएर नैतिक नायक बनाउँछ । जीवनमा आधुनिकताले नैतिकता, सदाचार शिष्टाचार भावना जाग्रत गर्नुपर्ने हो । तर, नैतिक शक्तिले सामाजिक अपिल गर्ने व्यक्तिको इच्छाशक्तिमा भने भर पर्छ ।
विद्यापतिको मिथिला समाज, सकोठाकालका साहित्य र नैतिकता आजको समयमा पाउन नसक्नुमा समाजले फडको मार्नु हो । अहिले भानुभक्तकालीन समाजको न शिक्षा प्रणाली छ, न नैतिकताले बनेका चरित्र, न विध्या प्रतिको गौरवता, न शक्तिसँग आँखा जुधाउन सक्ने चरित्रै विकास । त्यस्तो अपेक्षा पनि अहिले गर्न सकिँदैन ।
बिट मार्दै गर्दा
सत्ता नागरिकको अभिभावक बन्न नसक्दा शिक्षानीतिले नै नागरिकहरूलाई अब्बल, दोयम र शिक्षित रुपमा वर्ग विभाजन गरिरहेको छ । शिक्षा नीतिले सामाजिक वर्ग उत्पादन गर्न पुग्यो । शासक र सासित वर्गको शिक्षा र स्कुल फरक हुन पुगे । पढाईको स्कुल, पाठ्यसमाग्रीका चयन, त्यसको असरमा अहिले नेपाली विद्यार्थी अभिभावकका अपुरा सपना कसरी पुरा गर्ने दवावमा छन ।
जीवनको लक्ष किटान गर्ने परिवेश तयार नभएकाले हिडदै जाँउ, जहाँ पुगिएला भन्ने भएको छ । अभिभावका अपुरा सपना थेग्नुपर्ने वाध्यता विध्यार्थीमा बढेको छ । सहजपुजी ९इजी मनी० जसरी पनि पैसा कमाउ, सन्तानको सुख सुरक्षित गर, सुख भोग गर, तजुक देखाउ, धन र शक्ति प्राप्त गरेपछि सवैखाले अपराध सामाजिक स्वीकार्य हुन्छ भन्ने मनाभाव विकास भएकाले नैतिक मुल्य कमजोर बन्दै गएको समाजमा शिक्षाको सामाजिक दायित्व र नैतिक नागरिक उत्पादन गर्न सकिराखेको छैन ।
अन्तमा भन्नैपर्छ (जानकारीको स्रोत सबैसँग हुँदैन, न खोज्ने फुर्सद नै हुन्छ । नैतिकताका आधार शिक्षा र विद्या केन्द्रित हुन्छन । शिक्षाले ज्ञान भविष्य देख्ने चस्मा दिन्छ भने उन्नत जीवनको सुनिश्चितता गर्ने आधार बनाँउछ र नैतिकताको मानक तयार गर्छ । कुनैपनि चोर, र डाका, बलत्कारी, भष्टाचारी अभिभावकहरुले पनि आफुजस्तै सन्तान होस् भन्ने चाहाँदैन । आर्दश शिक्षित नागरिककोलागी आफूलाई समग्र खर्च गर्छ ।
लेखकःबरिष्ठ लेखक तथा विष्लेष्क नरेन्द्रजंग पिटर हुन ।


