Yug Post

इतिहास-अन्वेषक,अध्यात्म– र राष्ट्रप्रेमी व्यक्तित्व याेगी नरहरिनाथ

Advertisement

नेपालको इतिहास, संस्कृति, पुरातत्व र कर्णाली क्षेत्रको पहिचानसहितको गहिरो अनुसन्धानमा जीवन समर्पण गर्ने विरलै व्यक्तित्वमध्ये योगी नरहरिनाथ एक अत्यन्त महत्वपूर्ण नाम हुन्। केही समयअघि कर्णाली क्षेत्रका इतिहास, पुरातित्व, भाषा, भूगोल र सांस्कृतिक परिवेशबारे अध्ययन गर्ने अवसरका क्रममा योगी नरहरिनाथको व्यक्तित्व, जीवनदर्शन तथा योगदानसँग प्रत्यक्ष परिचय हुने मौका मिल्यो। यद्यपि ती कुराहरूलाई तत्काल प्रकाशनको रूप दिन सकिएको थिएन, तर आजको पुस्ताले इतिहासबाट मार्गदर्शन लिनैपर्ने अवस्थालाई मनन गर्दा उनका विचार, योगदान र जीवनगाथालाई व्यवस्थित रूपमा प्रस्तुत गर्नु आजको आवश्यकता बनेको छ।
सार्वजनिक जीवनमा प्रवेश गर्ने जो–कसैका लागि इतिहासका यस्ता व्यक्तित्व आदर्शका रूपमा उभिन सक्छन्। योगी नरहरिनाथलाई आध्यात्मिक गुरू, विद्वान इतिहासकार, संस्कृत साहित्यका प्रखर अध्येता, पुरातात्विक सामग्रीका सङ्ग्रहकर्ता, समाजसेवी, बहुभाषाविद् तथा राष्ट्रप्रेमी अभियानताका रूपमा चिनिन्छ। उनका व्यक्तित्वका अनेक आयामहरू भए पनि सबै आयामहरूको मूल जरा राष्ट्र, संस्कृति र इतिहासप्रतिको समर्पणमा पुगेर मिसिन्छ।

योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते साविक कर्णाली अञ्चल (हाल कर्णाली प्रदेश) अन्तर्गत कालिकोट जिल्लाको लालु गाउँमा पिता ललितसिंह थापा र माता गौरा देवीको कोखबाट भएको हो। जन्मका बेला उनलाई ‘बलबिरसिंह थापा’ नाम दिइएको थियो। बाल्यकालमा परिवारकै माध्यमबाट शिक्षा–दीक्षा प्रारम्भ भए पनि पछि उनले जुम्लाको चन्दननाथ मन्दिर, चन्दननाथ भाषा पाठशाला, काठमाडौंका गुरुकुलहरू, हरिद्वार तथा पञ्जाबका विहार–आश्रमहरूमा गएर संस्कृत, दर्शन्, वेद–शास्त्र र योग–तपस्यासम्बन्धी गहन अध्ययन गरे।
त्यसैबाट प्रेरित भएर उनी ‘नाथ संप्रदाय’मा प्रवेश गरे र आध्यात्मिक–संयासी जीवन वरण गर्दै ‘योगी नरहरिनाथ’ नाम ग्रहण गरे।

नेपालको इतिहास लेखनमा उनले पुर्‍याएको योगदान अतुलनीय छ। २००९ देखि २०१९ सम्म उनले राष्ट्रभर पैदल यात्रा गर्दै ताम्रपत्र, ताडपत्र, भोजपत्र, स्वर्णपत्र, सन्धिपत्र, वंशावली, अभिलेख र दस्तावेजहरू व्यवस्थित रूपमा संकलन गरे। नेपालका बाइसे–चौबिसे राज्य, गोरखाली एकीकरणका स्रोत, पुरातात्विक स्थलका अभिलेख, सांस्कृतिक दस्तावेज तथा कर्णाली–हिमाली क्षेत्रका मौलिक सामग्रीहरू जगेर्ना गर्न र लेखनमा उतार्न उनले अपार भूमिका खेले।
उनका प्रयास नभएको भए नेपाली इतिहासका धेरै हिस्सा आज पनि अँध्यारोमै रहन्थे भन्ने इतिहासकारहरू मान्छन्।
नेपालका धेरै पुराना दस्तावेजहरू नेपालभरका पहाड–पहिरा, मन्दिर–आश्रम, गुफा, गाउँघरमा छरिएका थिए। तिनलाई व्यवस्थित रूपमा खोजी, संकलन र प्रकाशनमा ल्याउन योगीले देखाएको साहस आजको पुस्ताका लागि प्रेरणादायी छ।

योगी नरहरिनाथ केवल अनुसन्धानकर्ता मात्र थिएनन्, उनी राष्ट्रभक्त अभियन्ता पनि थिए। नेपालका प्राकृतिक स्रोत–साधन, भू–अधिकार, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनतासम्बन्धी विषयहरूमा निरन्तर आवाज उठाउँथे। विदेशी हस्तक्षेप र अपमानका प्रश्नमा उनी निर्भीकतापूर्वक बोल्थे। राष्ट्रहितका मुद्दामा उनले जेल र यातना भोगेको तथ्य पनि इतिहासमा दर्ज छ।

साहित्य–सृजना र बहुभाषिक क्षमता
विश्वका २७ भाषामा बोल्न सक्ने क्षमताका धनी योगीले जीवनभरि ५७३ पुस्तक लेखेको बताइन्छ, जसमध्ये ३५९ कृति आज उपलब्ध छन्। उनका ‘इतिहास प्रकाश’, ‘सन्धिपत्र सङ्ग्रह’, ‘ऐतिहासिक शिखरिणी’, ‘दिव्योपदेश प्रकाशन’ जस्ता कृतिहरू नेपाल अध्ययनका आधारग्रन्थ मानिन्छन्। विशेषगरी ‘सन्धिपत्र सङ्ग्रह’ आठभागमा लेखिएको भए पनि अहिले सात भाग मात्र प्रकाशित छन्।
उनका लेखनमा नेपाली भूगोल, संस्कृत साहित्य, जातीय वंशावली, सांस्कृतिक इतिहास, औषधीय वनस्पति, राजनीतिक कूटनीति तथा सामाजिक विषयसम्मका विविध क्षेत्र समेटिएका छन्।
कर्णाली–हिमाल क्षेत्रका जडीबुटी, खाद्य वनस्पति र स्वास्थ्य उपयोगिताबारे उनका केही लेखन आज पनि सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरिन्छ। उनले यात्राका क्रममा भोगेका अनुभवलाई काव्यात्मक शैलीमा यसरी प्रस्तुत गरेका छन्ः
कतै काउलो–जाउलो फलफूल, सयौँ शाकभाकी,
कतै महजडी, खिरौंला, शताबर्षतका फली,
जडीबुटी धेरै थरी खाई हिडियो देश–देशमा…”

कोटीहोम अभियान र धार्मिक योगदान
योगी नरहरिनाथ धार्मिक–आध्यात्मिक जागरणका अभियानतासमेत थिए। हिन्दू समाजमा वैदिक संस्कार र वेद–शास्त्रप्रतिको चेतना जगाउने उद्देश्यले उनले वि.सं. २०३६ देखि ‘कोटीहोम अभियान’ सुरु गरे। उनले जीवनभर १२९ वटा कोटीहोम सम्पन्न गरे, र तिनबाट संकलित आर्थिक स्रोतलाई स्थानीय विकास, मन्दिर–आश्रम निर्माण, शिक्षा र सामाजिक कार्यमा खर्च गरिन्थ्यो।
बि.सं. २००७ मा पशुपतिनाथ परिसरस्थित मुगस्थलीमा ‘महामण्डल’ स्थापना गरी धार्मिक तथा सांस्कृतिक चेतनाको विस्तारमा लागे।
संस्कृत विश्वविद्यालय स्थापनामा नेतृत्व
दैनिक अध्ययन–अध्यापनमा संस्कृतको महत्त्व बुझेर उनले नेपालमा संस्कृत शिक्षाको उच्च संस्थान स्थापना गर्ने अभियान चलाए।
उनकै नेतृत्वमा गठन भएको १०१ सदस्यीय समितिले दाङको बेलझुण्डीमा ३२६ बिगाहा जग्गा संकलन गर्यो। त्यसकै आधारमा तत्कालीन ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ (आजको नेपाल संस्कृत विश्वविद्यालय) को विधिवत् स्थापना भएको हो।
यो विश्वविद्यालय नेपालकै अद्वितीय संस्कृत शिक्षाको केन्द्रका रूपमा आज पनि उभिएको छ।

उनको स्मृति र सम्मानमा नरहरिनाथ गाउँपालिका
उनको स्मृतिमा कालिकोट जिल्लामा साविकका कुमालगाउँ, कोटवाडा, रूप्सा, माल्कोट र लालु गाउँहरू मिलाएर ‘नरहरिनाथ गाउँपालिका’ बनाइएको हो।
२०७८ को जनगणनाअनुसार यसको जनसंख्या २२,४५८ र क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका स्थापना स्वयं योगीको कर्णालीप्रतिको योगदान र सम्मानको अभिव्यक्ति हो।

उनको शोध–प्रयासका कारण ‘इतिहास प्रकाश’ नामक चार खण्ड, ‘सन्धिपत्र सङ्ग्रह’, ‘पृथ्वीनारायण शाहको दिव्योपदेश’, ‘कर्णालीका वंशावली’, ‘हिमाली संस्कृति’ जस्ता पुस्तकहरू प्रकाशित भए।
बाइसे–चौबिसे राज्यहरूको इतिहास, कर्णाली क्षेत्रका मिथक र परम्पराहरू, योग–शास्त्र, नेपाल–भारत सम्बन्ध, सांस्कृतिक नृविज्ञान—यी सबै क्षेत्रमा योगीका कृतिहरू आज पनि अपरिहार्य सन्दर्भका रूपमा प्रयोग हुन्छन्।

जीवनको अन्तिम समयसम्म इतिहास संकलन, राष्ट्रभक्ति र आध्यात्मिक जागरणमा समर्पित योगी नरहरिनाथको निधन वि.सं. २०५८ फागुन १३ गते भयो। यद्यपि उनको शारीरिक अस्तित्व अन्त्य भयो, तर उनको ज्ञान, साधना, अनुसन्धान र राष्ट्रप्रतिको समर्पण आज पनि उत्तिकै जीवित छ।

योगी नरहरिनाथ केवल एक व्यक्तित्व मात्र होइनन्, उनी नेपाल इतिहासका एक जीवित संस्था जस्तै थिए। कर्णालीका पहाड–घाटीदेखि नेपालको हिमाल–तराईसम्म हिँडेर उनले संकलन गरेका सामग्रीले आजको पुस्तामा इतिहास बुझ्ने ढोका खोलिदिएको छ।
उनको जीवनले सिकाउँछ राष्ट्रप्रेम कागजमा होइन, कर्ममा देखिन्छ। इतिहास केवल पढ्ने विषय होइन, संरक्षण गर्नुपर्ने धरोहर होर, अध्यात्म केवल साधनामा सीमित होइन, समाज र राष्ट्रप्रतिको समर्पणमा प्रकट हुन्छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search