पर्सा —रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो ।
रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् ।
पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए ।


