टेक मगर ,रोल्पा — रोल्पाको रुन्टिगढी गाउँपालिका–१ राम्ली निवासी महिला स्वास्थ्य स्वयंसेवीका मनि घर्ती मगरको निधन भएको छ। करिब ४० वर्षीया घर्ती मगरको मंगलबार बिहान घरमै मृत्यु भएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो।
स्वयंसेवीका घर्ती मगर करिब डेढ वर्षअघि स्थानीय आमा समूहको बैठकमा जाँदै गर्दा गाउँ नजिकैको काफलको रुखबाट लडेकी थिइन्। सो दुर्घटनामा उहाँको ढाड भाँचिएको थियो। प्रारम्भिक उपचारपछि केही समय अस्पतालमा बसेर घरमै आराम गरिरहेकी उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा अन्ततः मंगलबार बिहान निधन भएको वडा नं. १ का वडा अध्यक्ष थम बहादुर घर्तीले बताउनुभयो।
स्वास्थ्य स्वयंसेविका घर्ती मगर लामो समयदेखि स्थानीय वडामा महिलाको स्वास्थ्य सेवा प्रवर्द्धनमा सक्रिय रहनुभएको थियो। उहाँको निधनले गाउँपालिकालाई ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष पुनले बताउँदै मृत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। साथै, उहाँले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। मृतक घर्ती मगरका एक छोरा र एक छोरी छन्।


