रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका ५ मा अवस्थित श्री जन जागृति माध्यमिक विद्यालयले बाल विकासदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको परीक्षा नतिजा सार्वजनिक गरेको छ। विद्यालयका अनुसार २०८१ सालको वार्षिक परीक्षामा सहभागी ६१५ मध्ये ९३.४९ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् भने ६.५० प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्।
हालैका दिनमा शिक्षक आन्दोलनका कारण देशभरकै विद्यालयहरूको शैक्षिक गतिविधिमा असर परेको सन्दर्भमा विद्यालयका बि.वि.स अध्यक्ष कृष्ण बहादुर केसीले जन जागृति माविका शिक्षक, अभिभावक र विद्यार्थीहरूको मन भने विद्यालयमै रहेको बताएका छन्। “शिक्षक आन्दोलनमा सहभागी भए पनि शिक्षा प्रति सबैको भावना जिम्मेवार छ,” उनले भने।
अध्यक्ष केसीले अभिभावकहरूलाई विद्यार्थीलाई हौसला दिन आग्रह गर्दै भने, “अहिलेको नतिजा जस्तो आए पनि विद्यार्थीलाई टर्चर नदिनुहोस्। पूर्णाङ्क जति भए पनि भोलि उनीहरू असल व्यक्ति बन्न सक्छन्। १०/१५ दिनको ढिलाइले केही फरक पार्दैन, उनी भन्छन्, “अब सबैले विद्यार्थीलाई राम्ररी पढ्न सघाउनुपर्छ।”
विद्यालयले आगामी आइतबार र सोमबार भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ। मंगलबारबाट नयाँ शैक्षिक सत्रका कक्षा सुरु हुने जानकारी दिँदै अध्यक्ष केसीले विद्यार्थीसँगै अभिभावकलाई पनि भर्नाका क्रममा विद्यालयमा उपस्थित हुन अनुरोध गरेका छन्।


