रोल्पा, वैशाख १२ – रोल्पा जिल्लाका १० पालिकामध्ये त्रिवेणी गाउँपालिकाले यस वर्ष पनि पूर्ण खोप पालिका घोषणा गरिएको छ। खोप सुनिश्चितता तथा दिगोपनाका लागि त्रिवेणी गाउँपालिकाले सरोकारवालाको सहभागितामा हस्ताक्षर गर्दै साझा प्रतिबद्धता जनाएको छ।
त्रिवेणी गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा “पूर्ण खोप, सुरक्षित भविष्य: शिक्षा, स्वास्थ्य र पूर्वाधार समुन्नत त्रिवेणीको आधार, स्थानीय स्रोतको सदुपयोग, स्वामित्व र सहभागिता: पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो।
घरधुरी सर्वेक्षणका आधारमा आंशिक रूपमा खोप छुटेका चार जना बालबालिकालाई खोजी गरेर घरमै गई खोप लगाएपछि पालिकामा पूर्ण खोप सुनिश्चित भएको हो। जन्मदेखि ५९ महिनासम्मका १,२०२ जना बालबालिकालाई खोप दिइसकिएको जनाइएको छ। यस्तै, जन्मेदेखि १५ महिनासम्मका ४५८ जना बालबालिकाले सम्पूर्ण खोप लिइसकेको गाउँपालिकाले जनाएको छ।
पब्लिक हेल्थ नर्स कृष्णा कुमारी बि.सि.का अनुसार, राष्ट्रिय पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ (तेस्रो संस्करण २०७७) अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। खोप तालिकाअनुसार पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत १३ प्रकारका रोगविरुद्ध आवश्यक सबै मात्रा बालबालिकालाई दिइएको छ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक सीता आचार्यले पूर्ण खोप कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुनु नहुने उल्लेख गर्नुभयो।
कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले त्रिवेणी गाउँपालिका स्वास्थ्य क्षेत्रमा पहिलेदेखि नै उत्कृष्ट रहेको बताउनुभयो। खोपको निरन्तरताका लागि सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
- उक्त अवसरमा उपस्थित सरोकारवालाले पूर्ण खोप सुनिश्चितता कायम राख्न दिगोपनाका लागि साझा प्रतिबद्धता जनाएका थिए।



