टेक मगर रोल्पा, वैशाख २८ – सुनिल स्मृति गाउँपालिका–५ अन्तर्गत काप्झिङ्ग र बुद्रीबास बस्तीमा बिहीबार राति करिब १२ बजे आएको भीषण हावाहुरीसहितको चट्याङले ठूलो क्षति पुर्याएको छ।
चट्याङको प्रहारबाट रोल्पा नगरपालिका–१०, धवाङ कुतिवाङ निवासी जम्के खत्रीकी १६ वर्षीया छोरी धनमाया खत्रीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। यस दुखद घटनामा तिक बहादुर खत्रीका १५ वर्षीय छोरा नवीन खत्री र बुद्रीबास निवासी तिक बहादुर घर्तीकी १३ वर्षीया छोरी लिला घर्ती गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय स्तरमा तत्काल उपचार भइरहेको जनाइएको छ।
यस घटनामा प्रबल घर्तीका दुई वटा बाख्रा समेत चट्याङ लागेर मरेका छन्। चट्याङका कारण मानवीय तथा पशुजन्य क्षति हुनुका साथै जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्। मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ। साथै गम्भीर घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ।
यसै सन्दर्भमा गाउँपालिका–५ अन्तर्गत अन्य क्षेत्रहरूमा चट्याङ र हावाहुरीबाट थप के–कस्तो क्षति भएको छ भन्ने यथार्थ विवरण प्रवर्द्धन, वन वातावरण तथा विपद् व्यवस्थापन उपशाखामा जानकारी गराउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।
त्यस्तै, मौसम पूर्वानुमानअनुसार हाल देशका विभिन्न स्थानहरूमा बदली, मेघगर्जनसहित चट्याङ र हल्का वर्षा हुने सम्भावना रहेकाले सम्पूर्ण गाउँपालिकावासीलाई आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ।


