टेक मगर ,रोल्पा – रोल्पामा सम्पन्न सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबले उचालेको छ। फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको हो। लिवाङमा बुधबार भएको फाइनलल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि हात पारेको हो ।
विजेता बनेको पुलिस क्लबले ५ लाख राशिको पुरस्कार र सन स्टार कप प्राप्त गरेको छ । भने उपविजेता त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। खेल दुवै टोलीबीच कडा प्रतिस्पर्धामा रह्यो, तर निर्णायक सेटमा पुलिस क्लबले उत्कृष्ट खेल प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो। प्रतिस्पर्धात्मक खेलमा पुलिसले चारमध्ये तीन सेट जितेको हो । पुलिसले पहिलो सेट २५–१८, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२३ ले जितेको हो ।
महिलातर्फको उपाधि भने परिवर्तन गाउँपालिकाको टोलीले जित्न सफल भयो। प्रारम्भदेखि नै राम्रो प्रदर्शन गर्दै आएको परिवर्तन गाउँपालिकाले उपाधिसँगै व्यापक प्रशंसा बटुल्यो।
बुधबार नै सम्पन्न पहिलो खेलमा लुम्बिनीलाई हराउँदै कोशी प्रदेशले तेस्रो स्थान प्राप्त गर्यो । तेस्रो कोशी र चौथो भएको लुम्बिनीले क्रमशः १ लाख र ५० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको समापन समारोहमा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, खेलाडीहरू र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। आयोजक समितिले खेलकुदमार्फत युवामा सकारात्मक ऊर्जा भर्न र जिल्लामा खेलको विकासलाई अगाडि बढाउन यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता जनाएको छ।


