रोल्पाको थबाङ गाउँपालिका– ५, उवामा सुतिरहेको अवस्थामा मसाने भनेर चिनिने सीताराम रोकाक्षेत्रीको बिहीबार राति अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या गरिएको छ ।
उवा ठुलोगाउँको हार्जुवा भन्ने ठाउँमा रहेको सुमित होटेलमा खाना खाएर सुतेका सुनछहरी गाउँपालिका– ५, जैमाकसलाका ३६ वर्षीय रोकाको घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।
लु.१ज १८४७ नम्बरको जिपचालक रहेका उनी बिहान अबेरसम्म पनि नउठेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी सहायक निरीक्षक देवेन्द्रविक्रम विकको नेतृत्वमा चारजनाको प्रहरी टोली पुगेको थियो । हत्या गर्ने अज्ञात समूहबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।


