वीरगन्ज । बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
आज भन्दा पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको हो । आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा गोली प्रहार गरीको उनको हत्या गरिएको थियो । त्यसबेलादेखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई गएराति पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
प्रहरीको विशेष टोलीले कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको उनले पुष्टि गरेका छन् । करिब पाँच महिनादेखि परिचालित प्रहरीको स्पेसल टोलीले मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको बारा प्रहरी प्रवक्ता सापकोटा बताउँछन् ।
मुख्य अभियुक्त कुशवाहा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेको सूचना आएपछि प्रविधिको सहयोगमा पछ्याउँदै जाँदा उनलाई बुधबार पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।
घाइते कुशवाहाको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । गोली लागेपछि घाइते भएका क्याम्पस प्रमुख कुशवाहा त्यही बेला मृत्युकालीन घोषणा गरेका थिए । गोली प्रहारबाट घाइते भएपछि कुशवाहाले त्यसबखत सर्वसाधारणबाट भिडिओ रेकर्ड गर्न लगाएका थिए ।


