टेक मगर,१० मंसिर राेल्पा / रोल्पाको त्रिवेणी गाउँपालिकामा चुनढुङ्गा उत्खनन प्रा.लि. ले गरेका सम्झौताहरु को सहमति पुरा गर्न वार्ता मा उपस्थित नहुँदा सर्वदलीय बैठकले आन्दोलनको तयारी गर्ने निर्णय सार्वजनिक गरेको छ। चुनढुङ्गा उत्खनन्का सम्बन्धमा गम्भीर प्रश्नहरू उठेका छन् । खानी उद्योगले गाउँपालिकालाई उत्खननको क्रममा राजश्व छली, जनताको जग्गासँग भएको सम्झौताको उल्लंघन र विद्यालयका बालबालिकाको अध्ययनमा परेको असरका कारण कानुनी कारबाहीदेखि आन्दोलनसम्मको निर्णय गरेको छ।
गाउँपालिकाले रोल्पा चुनढुङ्गा प्रा.लि. शिवस्वरुप खनिज उद्योग र रोल्पा सिमेन्ट प्रा.लि. बिरुद्ध राजश्व तिर्ने प्रक्रियामा लापरबाही गरेको भन्दै कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाउने निर्णय भएको तर गत असोज १७ गते बसेको सर्वदलीय बैठकले १५ दिनको अल्टिमेटम दिएको तर अल्टिमेटमको समय सिमा भित्र माग गरेका सर्तहरु केही पनि पुरा नगरेको हुनाले फेरि कार्तिक ३ गते जुगारमा बसेको सर्वदलीय बैठकले २२ दिनको समय दिएको थियो, उक्त समयसम्म पनि राजस्व लगाएत माग गरेका माग पूरा नगरे कार्तिक २५ गते रानागाँउमा पत्रकार सम्मेलन गरि आन्दोलनको घोषण गर्ने निर्णय गरेको थियो । तर चुन ढुङ्गा प्रा.लि का प्रतिनिधिहरु २३ गते वार्तामा आएका थिए, उक्त वार्तामा राजश्व सहीत स्थानीय र विद्यालय को मागहरु पूरा गर्न सकेन। फेरी मंसीर ८ गते वार्ता मा आउँने अहिले कुनै तत्काल निर्णय गर्न नसकिने, हामीले पनी सल्लाहा गर्नुपर्छ भन्दै समय थप गरिएको थियो। तर मंसीर ८ गते आफ्नो समस्या देखाउँदै वार्तामा उपस्थीत भइएन। यसरी पटक-पटक वार्ता सार्दा , खानी प्रभावित क्षेत्रका स्थानीयहरुलाई बिभिन्न आश्वासन देखाउँदै जसरी ३ वर्ष सम्म घुमाएकाे ,त्यसरी नै सर्बदलीय लाई पनी घुमाउन खोजेको देखिन्छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत् खानी तथा भूगर्भ विभागले २०७८ सालको चैत्र २४ गते पठाएको पत्रमा सो कम्पनीले रोयल्टी रकम जफत गर्न र जरिवाना दस्तुर दाखिला गर्नुपर्ने स्पष्ट रूपमा उल्लेख भए पनि सो कार्य अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । पालिकाले त्यो मितिदेखि हालसम्म पनि १० प्रतिशत सेवा शुल्क र २५ प्रतिशत राजश्व पाउन नसकेको कुरा उठाउँदै तत्काल राजश्व दाखिला गर्न जानकारी गराउदै आएको छ। यसैगरी खानी सञ्चालनका क्रममा जनतासँग भएका सम्झौता पनि हालसम्म कार्यान्वयनमा आउन सकेका छैनन् । उत्खनन्को असरले स्थानीय जनतामा आर्थिक र सामाजिक समस्या उत्पन्न भएको बताइएको छ । गाउँपालिकाले यी सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै सम्बन्धित पक्षलाई यथासिघ्र कदम चाल्न आग्रह समेत गरेको थियाे । यसबारे सरोकारवालालाई जानकारी गराएको थियो ।
स्काभेटरको ब्रेकरको ध्वनिले त्रिवेणी गाउँपालिका वडा नं. ४ सिम्पानिमा रहेको श्री जनकल्याण माध्यमिक विद्यालय, त्रिवेणी गाउँपालिका वडा नं. ४ श्री दुर्गाभवानी आधारभूत विद्यालय र त्रिवेणी गाउँपालिका वडा नं. ३ श्री सिद्धेश्वरी प्राथमिक विद्यालयका विद्यार्थीहरूको अध्ययनमा प्रतिकूल असर पुर्याएकाे कुरा छलफलमा उल्लेख गरिएको थियो । उत्खननको भाइब्रेसन र ध्वनिका कारण विद्यार्थीहरूको ध्यान खिच्न नसक्ने अवस्था रहेको भन्दै पालिकाले विद्यार्थीहरूको स्वच्छ वातावरणमा पढ्न पाउने अधिकारको रक्षा गर्न सम्बन्धित निकायमा पत्र लेखी पठाउने निर्णय गरेको थियो । यस्तै नजिकै रहेका बस्ती र अन्य सार्वजनिक कार्यालयहरूमा पनि वातावरणीय असर परेको जनाइएको छ ।
सर्वदलीय बैठकले सबै सरोकारवाला निकायलाई आफ्ना जिम्मेवारी पूरा गर्न र जनताको हकहितको संरक्षणमा काम गर्न अनुरोध गरेको छ । मंसिर १७ गते सोमबारको दिन प्रभावित क्षेत्र त्रिवेणी गाउँपालिकामा-३ राणागाउँमा गएर सर्बदलीयले पत्रकार सम्मेलन गर्ने र सोहि दिनमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने र मंसीर १८ गतेबाट आन्दोलन अगाडी बढाउने मंसीर ९ गतेको सर्बदलीय बैठक ले निर्णय गरेको छ।
सर्बदलीय बैठक बाट बिभिन्न समितिहरू समेत गठन गरिएको छ। संघर्ष समिती, आर्थिक समिति र ब्यवस्थापन समिति गरी ३ वटा समिति गठन गरिएको छ। संघर्ष समितिमा ओमराज घर्तीको संयोजकतामा १६ सदस्य सहीत खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई समेत समावेश गर्ने गरी समिती गठन गरिएको छ। आर्थिक समितिमा कुस बहादुर पुनको संयोजकतामा ५ सदस्य गठन गरिएको छ। त्यस्तै व्यवस्थापन समितिमा कर्ण बहादुर ओलीको संयोजकतामा ८ सदस्य गठन गरिएको छ। चुनढुङ्गा प्रा.लि वार्तामा आए वार्ताको ढोका खुल्ला रहेको बताइएको छ।




