पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा अनुसन्धानको क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति वि लामिछानेले आइतबार अदालतमा आफूलाई हिरासत मुक्त गरिदिन अड्डी कसेका थिए ।त्यसपछि न्यायाधीश बेलबासेले अहिलेअनुसन्धान जारी रहेकोले थुनछेक बहसमा विचार गर्न सकिने प्रतिक्रिया दिएका छन् ।
‘म यहाँ बसेको १ महिना ७ दिन भयो, त्यसको ६ दिन मात्रै सदुपयोग भयो । बाँकी दिन केही गरिएको छैन । म भागेर कहीँ जान्नँ,’ इजलासमा उनले सुनाए, ‘म संसारका राम्रो जिन्दगी बाँचेर आएको मान्छे । म भागेर कहाँ जाउँला र श्रीमान् ? म जतिबेला पनि उपस्थित हुन सक्छु । अनुसन्धान भरि पोखरा नछोड भन्नुहुन्छ भने पनि छोड्दिनँ ।’
संसदीय छानबिन समिति आफ्नै लागि मात्रै बनेको उनको गुनासो छ । ‘मलाई नै केन्द्र बनाएर संसदीय छानबिन विशेष समिति बनाइयो । त्यसकारण प्रतिवेदनको मध्यविन्दुमा म नै थिएँ,’ लामिछानेले भने, ‘सरकार परिवर्तन भयो, मानिसको बोली परिवर्तन भयो ।’ उनले दुई प्रधानमन्त्रीले नै आफ्ना विषयमा फरक भूमिकामा हुँदा फरक बोल्ने गरेकोमा दुखेसो पोखे ।
‘त्यतिखेर संसदमा प्रधानमन्त्रीजी (पुष्पकमल दाहाल प्रचण्ड) ले बोल्दा आफ्नो मनबाट बोल्नुभएको होइन । सबै अनुसन्धान गरेका निकायलाई बोलाएर, बुझेर उहाँले त्यो कुरा बताउनुभएको थियो,’ लामिछानेले बयानमा भने, ‘अहिलेका प्रधानमन्त्रीज्यूले पनि त्यसैगरी बुझेर बोल्नुभएको थियो । प्रहरी प्रमुखले सबै निकायहरूलाई बोलाएर, सोधेरै भन्नुभएको हो । महान्यायाधिवक्ताको कार्यालयले पनि खोजेर, बुझेरै पत्र दिएको हो ।’
आफ्नो अन्तिम आशा अदालतसँगै भएकोले न्यायको लागि उनले न्यायाधीश सामु अनुनय गरे । न्यायाधीश हिमलाल बेलबासेले उनको मुद्दा अनुसन्धानकै चरणमा रहेको प्रतिक्रिया दिए । ‘यो अनुसन्धानको चरण हो । अहिले दोषी भनिहालेको छैन,’ बेलबासेले भने, ‘अहिले म दोषी भएँ भनेर सोचिहाल्न पनि पर्दैन, अहिले निर्दोष छु भनेर भनिहाल्न पनि पर्दैन ।’
अनुसन्धानमा सघाउन तयार रहेको भन्दै लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दोहोर्याए । चारैतिर मुद्दा र बयानले आफूलाई हैरानी भएको उनले सुनाए । न्यायाधीश बेलबासेले हैरानी भएकै कारण छिटो मुद्दा सिध्याउन लागेको बताए । उनले अनुसन्धान जारी रहेकोले थुनछेक बहसमा विचार गर्न सकिने प्रतिक्रिया दिए ।
‘थुनछेकको बेलामा विचार गर्न सकिन्छ, यो अनुसन्धान चाहिँ ठिक छैन, यो ठिक छ भनेर अहिले भन्ने अवस्था छैन,’ प्रतिउत्तरमा बेलबासेले भने । कास्कीबाट छोडे पनि अन्यत्र अनुसन्धानका लागि पुनः पक्राउ पर्ने उनले बताए ।


