रोल्पा, रुन्टिगढी गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रिठाबोटले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ।
विद्यालयका प्रधानाध्यापक झक्कु प्रसाद ओलीको व्यक्तिगत पहलमा आयोजित कार्यक्रममा A ग्रेड ल्याएका दुई विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ र अन्य उत्तीर्ण १२ जनालाई जनही १ हजार रुपैयाँ प्रदान गरिएको हो। यस वर्ष विद्यालयका १४ जना विद्यार्थी नियमित रूपमा उत्तीर्ण भई गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन्।
सम्मान समारोह शुक्रबार वडा नं. १ का अध्यक्ष थमबहादुर घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष देउराम पुनले गरेका थिए। सफलताको खुसीयालीमा विद्यार्थी, शिक्षक तथा स्थानीयबासीको सहभागितामा विजय र्याली पनि निकालिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष बागदल डाँगीलाई विद्यालयको समृद्धि र विकासमा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान गरियो। विज्ञान, अङ्ग्रेजी र गणित विषयमा उत्कृष्ट नतिजा ल्याउने शिक्षक झक्कु प्रसाद ओली, रेशम पुन र अरुण पौडेललाई पनि सम्मानित गरिएको थियो।
प्रधानाध्यापक ओलीले विगतको कमजोर शैक्षिक स्थिति सुधार गर्दै विद्यालयलाई उत्कृष्ट बनाउने दृढता व्यक्त गरे। “विज्ञान विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल भइयो, अब अन्य विषयमा पनि यस्तै प्रतिबद्धता आवश्यक छ,” उनले भने।
प्रमुख अतिथि वडा अध्यक्ष घर्तीले विद्यालय व्यवस्थापन समितिसम्बन्धी विवादप्रति गम्भीर चासो रहेको उल्लेख गर्दै आवश्यक परेमा वडा कार्यालयले प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने चेतावनी दिए।
कार्यक्रम सञ्चारकर्मी बुदिराम विकले सञ्चालन गरेका थिए भने शिक्षिका हरिकला बाठाले स्वागत मन्तव्य दिएकी थिइन्। समापन मन्तव्यमा संघ अध्यक्ष देउराम पुनले समग्र शैक्षिक सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।


