टेक मगर ,रोल्पा – त्रिवेणी गाउँपालिका–५ मा आर्थिक वर्ष २०८१/०८२ मा वडामा रहेका विपन्न दीर्घरोगी १४ घरपरिवारको स्वास्थ्य बीमा गरिए पनि महिनौँसम्म बीमाको सेवा पाउन नसकेपछि बिरामीहरू उपचारविहीन बन्न पुगेका छन्।
वडाले स्थानीयस्तरमै बजेट विनियोजन गरी स्वास्थ्य बीमा शुल्क तिरेर भुक्तानीसमेत गरिसकेको करिब ३–४ महिना भइसक्दा पनि स्वास्थ्य बीमा कार्यालय रोल्पाले विविध बहाना देखाउँदै सेवा प्रवाह गर्न ढिलाइ गरिरहेको पीडित परिवारहरूको गुनासो छ।
“कागजात के के पुगेको छैन भनेर हामीले पटक–पटक सोध्दा पनि ‘सब ठिक छ’ भन्ने जवाफ आउँछ,” वडाका एक प्रतिनिधिले बताए, “तर अहिलेसम्म बीमा प्रणालीमा ती परिवारहरूको विवरण अद्यावधिक गरिएको छैन।” उनका अनुसार कार्यालयका कर्मचारीसँग सम्पर्क गर्न खोज्दा फोनसमेत उठ्दैन। रोल्पा स्वास्थ्य बीमा शाखाका कर्मचारीको मोबाइल नम्बर ९८४५०७०२०२ मा पटक–पटक फोन गर्दा पनि जवाफ नआएको उनी बताउँछन्।
सबैभन्दा पछिल्लो उदाहरणमा वडाका नागरिक जयलाल खत्री राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा भर्ना भएका छन्। उनी आफैं सम्पर्क गर्न नसक्ने अवस्थामा रहेकाले उनका आफन्तहरूले पनि कार्यालयमा धेरै प्रयास गर्दा पनि कुनै सुनुवाइ नभएको वडाले जनाएको छ।
त्यति मात्र होइन, वडाबाट केन्द्रीय स्वास्थ्य बीमा बोर्ड (फोन नं. ०१–४१००२२३) मा समेत सम्पर्क गर्दा फोन नै नउठेको गुनासो छ।
स्थानीय बासिन्दा, बिरामीका आफन्त र वडा कार्यालयले यस्ता लापरबाहीपूर्ण व्यवहारले विपन्न र दीर्घरोगी जनतालाई झन् अप्ठेरोमा पारेको भन्दै सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्ने माग गरेका छन्। “स्वास्थ्य बीमाका नाममा कार्यालय खडा गरेर जनताको स्वास्थ्यसँग खेलबाड गर्नु आपराधिक कार्य हो, यस्ता संस्थालाई जवाफदेही बनाइनुपर्छ,” वडाका जनप्रतिनिधिको भनाइ छ।
स्थानीय तहले जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न खर्च गरेको बजेटको यथोचित उपयोग नभएको भन्दै बीमा प्रणालीमा सुधार र जवाफदेहीताको माग चुलिएको छ। यदि तत्काल सुधार नभए कानुनी उपचार खोजिने वडा कार्यालयले चेतावनी दिएको छ।


