रोल्पा, टेक मगर– रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका–६ मा रुखको मुढाले च्यापिँदा एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही स्थानकी २६ वर्षीया प्रतिक्षा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ३:५० बजे लुङ्ग्री गाउँपालिका वडा नं. ६ स्थित कालिमाटि सामुदायिक वनमा प्रतिक्षा बुढाथोकीको मृत्यु भएको हो। सो वन क्षेत्रमा स्थानीय निलबहादुर बिष्टले उत्तिसको रुख ढालेर मुढा काट्ने क्रममा मुढा पल्टिएर बुढाथोकीलाई च्यापेको प्रहरीको भनाइ छ। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले निलबहादुर बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।


