रोल्पा, टेक मगर — त्रिवेणी गाउँपालिका–२, दहवनमा निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि कोल्ड स्टोर अझै सञ्चालनमा आउन सकेको छैन। २०७५/७६ मा कुल ५ करोड २५ लाख रुपैयाँको लागत अनुमानसहित सुरु गरिएको परियोजनामा हालसम्म २ करोड ६६ लाख रुपैयाँ मात्रै भुक्तानी गरिएको छ। बाँकी २ करोड ५९ लाख रकम भुक्तानी हुन बाँकी रहेको छ।
कोल्ड स्टोर निर्माणको जिम्मेवारी लिएको नुवागाउँ साना किसान कृषि सहकारी संस्थाका पदाधिकारीहरूका अनुसार, बजेटको अभावले कार्य सम्पन्न भए पनि सञ्चालनमा ल्याउन कठिन भएको हो।
“हामीले ऋण लिएर काम अघि बढायौं, हामीलाई अख्तियारमा मुद्दा पनि परेको थियो। २०८० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रक्रिया पुग्यो । ढिला भुक्तानीका कारण थप समस्या भोग्नु पर्यो,” एक पदाधिकारीले बताए।
निर्माणको समयमा कोरोना महामारीले पनि काम प्रभावित भएको थियो। म्याद पटक–पटक थपिएको थियो, तर मन्त्री फेरिएपछि म्याद थप्ने प्रक्रिया रोकिँदा बाँकी काम आफैं गरेको बताए।
“त्यसपछिको समय व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो। व्यक्तिगत रूपमा दाङस्थित ४/५ कट्ठा जग्गा बेचेर समेत कामलाई निरन्तरता दिएका छौं,” पदाधिकारीले दुःख व्यक्त गरे।
प्रदेश सरकारले २० लाख र त्रिवेणी गाउँपालिकाले ११ लाख गरी जम्मा ३१ लाख रुपैयाँ बजेट छुट्याएको भए पनि हालसम्म रकम निकासा हुन सकेको छैन।
कोल्ड स्टोर सञ्चालनका लागि आवश्यक मेसिनहरू खरिद भइसकेका छन् भने २०७८/७९ मा गरिएको परीक्षण सफल भएको जानकारी पनि दिइएको छ। तर हाल विद्युत महसुलका लागि ६ लाख ६३ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ।
“सहकारी वा कुनै व्यक्ति आर्थिक रूपमा फसे पनि कोल्ड स्टोर सञ्चालन हुनैपर्छ भन्नेमा हामी स्पष्ट छौं। तर, अब प्रदेश र संघीय सरकारबाट नीति र सहयोग आवश्यक छ,” पदाधिकारीले सरकारसँग आग्रह गरे धेरै चुनौती पार गर्दै यहाँसम्म आइपुगेका छौं। अब सञ्चालन गर्न बाँकी बाधा हटाइए सञ्चालन आउने उक्त पदाधिकारी बताउँछन ।


