रोल्पा, त्रिवेणी- टेक मगर – नेपाल शिक्षक संगठन जिल्ला अधिवेशन त्रिवेणी गाउँपालिका–२ मा शुक्रबार उद्घाटन सत्र सम्पन्न भएको छ।
नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश इन्चार्ज तथा राष्ट्रिय समितिका सदस्य लिला आचार्य ले आफु जिल्लाको उपाध्यक्ष हुँदा ३५२ जना शिक्षक सहभागी भएको बताए। शिक्षकहरूले अन्य पार्टीका नेताबाट अवसर पाएको तर आफ्नै नेताबाट अपेक्षित साथ नपाएको गुनासो उनले सार्वजनिक गरे।
उनले चुनावको बेलामा मात्र शिक्षकहरूलाई प्रयोग गर्ने तर अन्य समयमा बेवास्ता गर्ने प्रवृत्ति प्रति गहिरो असन्तुष्टि जनाए। उनले असार १५ गतेसम्म प्रतीक्षा गर्ने जनाउँदै त्यसपछि आन्दोलन चर्किने चेतावनी पनि दिए। आन्दोलन लम्बिनुमा शिक्षकमै पनि कमजोरी रहेको स्वीकार गर्दै उनले “गल्तीलाई गल्ती भनेर स्वीकार गर्नुपर्छ” भने।
उनीले आन्दोलन चर्किँदा शिक्षकहरूलाई दमन नगर्न आग्रह गर्दै रुन्तिगढी र त्रिवेणीबाट सवार्दपूर्वक आन्दोलनमा जान दिने वातावरण गर्न आग्रह गरे। राहत शिक्षकहरू आयोगमा भिड्ने तत्परता हुनुपर्ने उनको भनाइ थियो। साथै, संगठनको लेवी समयमा उठाउन पनि उनले सबैमा आह्वान गरे।
कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश इन्चार्ज तथा राष्ट्रिय समितिका सदस्य लिला आचार्य रहेकी थिइन्। कार्यक्रम नेपाल शिक्षक महासंघ रोल्पा जिल्ला समिति अध्यक्ष बागबिर घर्तीको सभाध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो।
उपस्थित विशिष्ट अतिथिहरूमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार कुलानन्द गिरी, नेकपा एमाले रोल्पा जिल्ला अध्यक्ष अमृत बहादुर बुढा, र नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य सावित्रा कुमारी बुढा घर्ती थिए।
कार्यक्रमको सञ्चालन देवबहादुर सुनारले गरेका थिए भने स्वागत मन्तव्य नेपाल शिक्षक संगठन रोल्पाका उपाध्यक्ष वेगम करले राखेका थिए। कार्यक्रममा शिक्षकहरूलाई सम्मान गरिएको थियो। गीत, गजल तथा सांस्कृतिक प्रस्तुतीमार्फत उपस्थित शिक्षकहरूलाई हौसला प्रदान गरिएको थियो। अधिवेशनमा जिल्लाका विभिन्न स्थानबाट आएका शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


