योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन दाङको घोराहीमा हुने भएको छ।
नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसीएल नेपालद्वारा आयोजित सम्मेलन जेठ एक गतेदेखि दुई दिनसम्म घोराहीमा सञ्चालन हुने छ। वाईसीएल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष मुकेश थापाको अध्यक्षता र केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज मिना चदराको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनबारे विस्तृत जानकारी दिइएको हो।
पहिलो दिन घोराहीको ट्राफिक चोकबाट र्याली सुरु भई दाङ उद्योग वाणिज्य संघको सभाहलमा सभा आयोजना गरिनेछ। सम्मेलनमा प्रदेशका बाह्र वटै जिल्लाबाट दुई सय अठहत्तर जना प्रतिनिधिको सहभागिता रहने प्रदेश अध्यक्ष थापाले जानकारी दिनुभयो। उहाँका अनुसार सम्मेलनले एकानब्बे सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।
सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ले गर्ने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा उपस्थित मिना चदराले सम्मेलनबाट जुझारु टिम निर्माण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले माओवादी केन्द्र र वाईसीएलले जनतामा देखिएको निराशालाई आशामा बदल्न सक्नुपर्ने बताउनुभयो। साथै, वाईसीएल नेपालको राष्ट्रिय सम्मेलनले युवाको मुद्दा सम्बोधन गर्न दबाब सिर्जना गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।
“अबको दशक विकास, समृद्धि र रोजगारीको दशक बनाउने हाम्रो धारणा हो,” चदराले भन्नुभयो, “दोस्रो प्रदेश सम्मेलन त्यसै दिशामा अघि बढ्नेछ।”
सम्मेलनमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, वाईसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ लगायत नेताहरूको सहभागिता रहने प्रदेश अध्यक्ष थापाले बताएका छन् ।


