गए राति भारतले पाकिस्तानका ९ स्थानलाई निशाना साँधेर आक्रमण गरेको छ । उक्त आक्रमण सटिक र सफल भएको भारतीय पक्षले दावी गरिरहेको छ ।
तर, पाकिस्तानले भने भारतीय आक्रमणमा परी दुई बालबालिकासहित ७ जनाको मृत्यु भएको बताएको छ । बीबीसीका अनुसार पाकिस्तानी सेनाले यस्तो जानकारी दिएको हो ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भारतीय आक्रमणमा मस्जिदसहित केही स्थानलाई निशाना बनाइएको बताएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानलाई भारतले गरेको यो आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ ।’
उनले आफूहरूले एकजुट भएर भारतीय आक्रमणको जवाफ दिने पनि बताएका छन् । ‘पूरा देश आफ्नो सेनाको साथमा खडा छ । हाम्रो मनोबल र संकल्प अटुट छ,’ उनले भनेका छन्, ‘पाकिस्तानका बहादुर सैनिकहरूलाई हाम्रो शुभकामना छ । हामी उनीहरूको साथमा छौँ ।’
उनले पाकिस्तानका जनता र पाकिस्तानी सेना कुनै पनि खतराको सामना गर्न र त्यसलाई पराजित गर्न पूर्ण रूपमा तयार रहेको पनि उल्लेख गरेका छन् । उनले पाकिस्तानका दुश्मनहरूको उद्देश्य पूरा हुन नदिने पनि बताएका छन् ।


