टेक मगर ,रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका-२ मा रहेका पाँचवटा दर्ता भएका तरकारी बजारमार्फत १६,५५,९६० केजी तरकारी कारोबार भएको छ। यसबाट कुल १५ करोड ९० लाख ५९ हजार ५७४ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ।
त्रिवेणी गाउँपालिका-२ अन्तर्गत रहेका प्रमुख तरकारी सङ्कलन केन्द्रहरूबाट निम्नानुसार तरकारी कारोबार भएको छः-
1. गाउँले साना किसान उपज तथा सङ्कलन केन्द्र, नुवागाउँ :-
जम्मा कारोबार: ३,०३,६१६ केजी
आर्थिक कारोबार: रु २,२७,७१२००
2. जन उत्थान कृषि समूह सङ्कलन केन्द्र, भलाजुङ:-
जम्मा कारोबार: १,१०,५५० केजी
आर्थिक कारोबार: रु ८८,४४,०००
3. साना किसान मिलनडाँडा कृषि हाटबजार केन्द्र, बाघखोर:-
जम्मा कारोबार: १,५०,७६२ केजी
आर्थिक कारोबार: रु ६,४८,८८,०८६
4. नमुना दहवन कृषि उपज सङ्कलन केन्द्र, दहवन:-
जम्मा कारोबार: १०,११,०१०केजी
आर्थिक कारोबार: रु ५,९४,७३,५३८
5. हलङ्गा हाटबजार समूह, हलङ्गा:-
जम्मा कारोबार: ८,००२२ केजी
आर्थिक कारोबार: रु ३०,८२,७५०
आलु, लसुन, फलफूल बाहेकको मात्र विवरण रहेको वडा कार्यालयले बताएको छ। यस विवरणमा आलु, लसुन, फलफूलको कारोबार समावेश गरिएको छैन। मुख्य रूपमा टमाटर, बन्दा, फुलगोभी, घिउसिमी, करेला, तिते करेला, खुर्सानी, भेडे, हरियो साग, धनिया आदी लगायतका तरकारीहरूको कारोबार भएको हो।
किसानले उत्पादन गरेका तरकारीहरू कृषि हाटबजारसम्म किसानहरुले ल्याउने गरेका छन् भने कृषि हाट बजार केन्द्रबाट देशका विभिन्न स्थानमा पुर्याइएको बताइएको छ। देशका विभिन्न स्थानबाट कृषि व्यापारीहरू कृषि हाटबजारमै आएर किसानको तरकारीको मूल्य निर्धारण गरेर खरिद गरेका हुन्छन्। तरकारी खरिद गर्नका लागि दाङ, नेपालगञ्ज, धनगढी, भैरवा, बुटवल आदि देशका विभिन्न स्थानबाट व्यापारीहरू आउने गरेको वडा कार्यालयले बताएको छ।
अन्य दर्ता नभएका कृषि हाटबजारहरूको (साना बजारको) विवरण उपलब्ध नभएको बताइएको छ।
वडा कार्यालयका अनुसार दुई नम्बर वडाभरि रहेका साना हाटबजारहरूको विस्तृत विवरण भने संकलन हुन सकेको छैन। दर्ता नभएका बजारहरूमा पनि ठुलो परिमाणमा तरकारी किनबेच हुने भए तापनि हालसम्म आधिकारिक तथ्याङ्क सार्वजनिक गरिएको छैन। वडा कार्यालयका अनुसार दर्ता नभएका अन्य साना हाटबजारहरूको विवरण भने संकलन नगरिएको हो। यो विवरण संकलन गर्दा उत्पादन तथा कारोबारको वास्तविक तथ्याङ्क अझै बढ्न सक्ने अनुमान गरिएको छ।
साना किसान मिलनडाँडा कृषि हाटबजार केन्द्र, बाघखोर मा फिल्ड निर्माण को लागी २ लाख रकम विनियोजन गरेकाे र अहिले फिल्म निर्माण भइरहेको छ । जन उत्थान कृषि समूह सङ्कलन केन्द्र, भलाजुङलाई १ लाख बजेट विनियोजन गरिएको छ। नमुना दहवन कृषि उपज सङ्कलन केन्द्र, दहवन को टहरा निर्माण गर्नका लागी ५ लाख बजेट विनियोजन गरिएको वडा कार्यालयले बताएको छ।
कृषि विकासको निम्ति कृषि उपकरणहरू किन्नको लागि रु,३ लाख बजेट विनियोजन गरिएको जनाइएको छ।
किसानहरूलाई थप हौसला दिनको लागि आगामी दिनहरूमा गाउँपालिका र प्रदेशमा पनि थप बजेट को माग गर्ने २ नम्बर वडा कार्यालयले प्रतिबद्धता जनाएको छ। किसानहरूकै हक-हितमा लाग्ने र उत्कृष्ट किसानलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको वडा कार्यालयले बताएको छ।


