नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नं ब्युरो संगठन समितिले मिटरब्याजी आरोपित दाङका दुर्गाप्रसाद पन्थलाई जुत्ताको माला लगाउनुका साथै कालोमोसो दलेर जनकारबाही गरेको छ।
नेकपा बहुमतको ५ नम्बर ब्यूरो इन्चार्जमा नरेन्द्र बिक आएपछि विभिन्न प्रकारका जनकारबाही तीब्र बनाएको छ । बर्षौं देखि अदालतले दोषी करार गरेका बहालवाला लुम्बिनी प्रदेशका फरार संसद धनबहादुर केसी लगायतका विरुद्ध संघर्ष गरेर उनलाई अदालतमा आत्मसमर्पण गर्न बाध्य बनाएको थियो । त्यसपछि त्यो संघर्षको कार्यक्रम अन्त्य गरेको थियो
।
सो पार्टीले मिटर ब्याजी र लघुबृतको चर्को ब्याज विरुद्ध संघर्ष घोषणा गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको थियो । यसको सम्बन्धित पक्षले सुनाइ नगरे पछी पहिलो दोस्रो चरणमा कालोमोसो र जुत्तामाला लगाउने संघर्षको कार्यक्रम अन्तर्गत मिटरब्याजी आरोपित दुर्गाप्रसाद पन्थलाई जनकारबाही गरेर सुरु गरेको छ।
सो पार्टीले उनलाई मंगलबार उनी बसेकै ठाउँमा जुत्ताको माला लगाउनुका साथै कालोमोसो दलेर जनकारबाही गरेको छ।नेकपा बहुमतले उनी सँग तीन सयभन्दा बढी जग्गाधनी पुर्जा आफ्नै नाममा रहेको र आफ्नै निजी निवासमा कार्यालय नै राखेर मिटर ब्याजको धन्दा गर्ने गरेको आरोप लगाएको छ । विभिन्न शक्तिकेन्द्र र सत्तासीन पार्टीको आडमा उनले चर्को ब्याजदरमा ऋण लगाएर अरबौंको सम्पत्ति जोडेको पनि सो पार्टीले जनाएको छ ।
मिटरव्याजीको नाइके, नामुद सुदखोर, जाली तमसुक कागज चेक लिएर जनतालाइ सास्ती दिएको, चक्रीय ब्याज दर लगाइ जनतालाइ बेघरबार बनाएको, वित्तीय आतंक मच्चाएको, अवैध ढंगले अकुत सम्पत्ति जोडेको र राजस्व छली गरेकाले उनीमाथि जनकारबाही गरिएको सो पार्टीले जनाएको छ ।
सो पार्टीले निज पन्थलाई १० दिनभित्र छिनुवा पास, दृष्टि बन्धक वा चेक तथा तमसुक गरी कब्जामा लिएको घर जग्गा निःशर्त फिर्ता गर्न पनि कडा निर्देशन दिएको छ । यसका साथै सो पार्टीले निजको सम्पत्तिको श्रोत र सम्पत्तिलाई सम्पत्ति शुद्धीकरणको कानुनी दायरामा ल्याउन राज्यको निकायलाई पनि विशेष अनुरोध गरेको छ । अन्यथा अर्को चरणको निर्मम कारबाही गर्न आफूहरु बाध्य हुने चेतावनीसमेत सो पार्टीले दिएको छ ।


