काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
ओलीले असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ ।
भ्रमणमा रहेको बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरे ससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् l


