प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसद्बीच भनाभन हुँदा होहल्ला भएको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको १० वर्षे सशस्त्र विद्रोहलाई ‘हिंसा’ भनेपछि विवाद भएको हो । सांसद भट्टराईले माओवादी हिंसाका कारण बिजुली उत्पादनमा ढिलाइ भएको बताउनुभएको थियो ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भट्टराईको अभिव्यक्तिप्रति नियमापत्ति जनाएपछि पनि फेरि भट्टराईले माओवादी विद्रोहलाई एमालेले हिंसाकै रूपमा लिएको बताउनुभयो । फेरि माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाउनुभयो ।
भनाभन बढ्दै गएपछि माओवादीका अर्का सांसद देवेन्द्र पौडेलले एमाले सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरिएको भाषणलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गर्नुभयो । त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नेतृत्व गरिरहेको पार्टी एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।
यसैबीच नागरिक उन्मुक्ति पार्टीकी सांसद एवम् अध्यक्ष रञ्जिता श्रेष्ठले संसद् हेर्न र बुझ्न आएका विद्यार्थीहरू सत्तापक्ष र प्रतपक्षी सांसदहरूको बाझाबाझका कारण उठेर हिँडेको बताउनुभयो । संसद्मा बोल्दै उहाँले होहल्लाका कारण बालबालिकाको मनोविज्ञानमा संसद्प्रति नकारात्मक धारणा पैदा भएको बताउनुभयो ।


