– देशका पहाडी क्षेत्रका थोरै ठाउँमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी निम्न चापीय प्रणाली कारण आज काठमाण्डौ उपत्यकाका केही ठाउँमा क्षणिक रुपमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकाको मौसम बदली रहे पनि सबैजसो ठाउँमा भने पानी पर्ने सम्भावना छैन । आजभन्दा भोलि काठमाण्डौ उपत्यकामा निम्न चापीय प्रणालीको प्रभाव बढि पर्ने मौसमविद् अधिकारीले बताउनु भयो ।
अहिले पनि गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै ठाउँमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ । आउँदो २४ घण्टामा मधेस प्रदेशलगायत देशका पहाडी भेगका थोरै ठाउँहरूमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा र बाँकी उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।


