सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा जुटेका छन्।
एमालेका सांसदहरू सिंहदरबारस्थित संसदीय दल कार्यालय पुगेर मंगलबार बिहान १० बजेदेखि नै हस्ताक्षर गरिरहेका छन् भने कांग्रेसका सांसदहरूलाई पनि ‘दिउँसो २ बजेभित्र संसदीय दल कार्यालय आउनू’ भनिएको छ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बिहान ९ बजेदेखि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेको छ, जहाँ उपसभामुखलाई पदबाट हटाउनेबारे छलफलकेन्द्रित छ।
सोमबार साँझपख प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवासहित दुवै दलका शीर्ष नेताहरू बालुवाटारमा कुराकानी गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले उपसभामुखले आचरण अनुकूल काम नगरेको पाइएकोले हटाउनुपर्ने कुरा राखेको र त्यसमा सभापति देउवाले सहमति जनाएको कांग्रेसका एक नेताले जानकारी दिए।
उपसभामुख इन्दिरा राना मगरले भिजिट भिसासम्बन्धी अन्तर्वार्ताको समय सारिदिन आग्रह गर्दै लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र लेखेको विषय गत वर्ष बाहिरिएको थियो। त्यसबेला कांग्रेस र एमालेका कतिपय सांसदहरूले प्रतिनिधि सभामा बोल्दै पदबाट राजीनामा दिन उपसभामुखलाई भनेका थिए तर पछि त्यो विषय ओझेलमा परेको थियो। त्यसबेला प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उपसभामुखविरूद्ध उजुरी परेको थियो।
‘उपसभामुख इन्दिरा राना मगरले सन् २०२३/२/२६ मा संसद सचिवालय र आफ्नो पदको दुरूपयोग गरी अमेरिकी दूतावासमा पदीय मर्यादाविपरीत गैरसंसद व्यक्तिलाई भिसा सिफारिस गरेको हुँदा सो पत्रसमेत संलग्न गरी उपसभामुख पद दुरूपयोग गरेको अभियोगमा हटाउन निवेदन दिएको छु,’ राज्य व्यवस्था तथा सुशासन समितिमा २०८१ साउन १ गते परेको उजुरीमा भनिएको छ।
तर यो विषय अघि बढेको थिएन।
अहिले कांग्रेस र एमाले उपसभामुखलाई पदबाट हटाउने तयारी गर्दैछन्। ६ सदस्यीय संवैधानिक परिषदमा उपसभामुख पनि रहने व्यवस्था छ। संवैधानिक परिषदमा सत्तापक्ष र प्रतिपक्षीको मत बराबर छ। त्यसैले निर्वाचन आयोग लगायतमा नियुक्ति हुन सकेको छैन।


