नेपाली इतिहासमा सबैभन्दा धेरै बलीदानी, त्याग र तपस्याबाट सिर्जित एक मात्र संगठन क्रान्तिकारी विद्यार्थी संगठन हो । यो संगठनले आफ्नो विरासत मात्र बचाउने होइन नयाँ इतिहास बनाउने अभिभारा अहिलेको क्रान्तिकारी विद्यार्थी संगठनको काँधमा छ।
विद्यार्थी आन्दोलनले संसारका हरेक देशका हरेक राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएका छन् । बर्मेली विद्यार्थी आन्दोलन होस् वा नेपाली निरंकुश राणा शासन देखि सामान्ती शासन विरुद्ध विद्यार्थी आन्दोलन किन नहोस् । श्रीलंकाली विद्यार्थी आन्दोलन होस् वा गत बर्ष मात्र भएको बंगलादेशी विद्यार्थी आन्दोलन होस् । आफ्नो शैक्षिक मागबाट शुरूवात गरेको आन्दोलनले दमनकारी राज्य सत्तालाई नै धुलो पिठो पारेको ज्वलन्त उदाहरण छन् ।
दक्षिण एशियाली मुलुक श्रीलंकामा वामपन्थी विद्यार्थी आन्दोलनबा उदाए अनुरा कुमार दिशानायकेले राष्ट्रपतिको रुपमा यही वर्ष सपथ लिन सक्ने र बंगलादेशबाट आन्दोलन मार्फत प्रधानमन्त्री शेक हसिनालाई देश निकाला गरेको वर्तमान विश्व परिवेशमा हाम्रो नेपालको विद्यार्थी संगठन कोमा मै पुग्न लागेको जस्तो हुनु दु:खद हो।
संगठनलाई सडक बाघ बनाउन र सर्वहारा जनता का छोराछोरीलाई संगठनमा जोडेर युगिन कार्यभार पूरा गर्न आन्तरिक शक्ति मजबुत बनाउनु पर्छ । बस्तुको बिकास कि विनास भन्ने कुरा बाह्य पक्ष सहायक र आन्तरिक पक्ष प्रधान हुन्छ ।
विद्यार्थी संगठनका नेताहरू उम्मेरले ४५ वर्ष पुगेका जो नेतृत्वमा पुग्नका निम्ति जाम लागेर बसेका छन् । फलामलाई लामो समय सम्म एकै स्थानमा राख्यौं भने फलाम भित्रबाट खिया लागेर आफै सकिए झैं भएका विद्यार्थी नेताको कारण पुरै विद्यार्थी संगठननै विलोपिकरण हुन् लागेको छ।
माओवादी पार्टी भन्दा पहिल्यै २०७५ सालतिर आफुलाई खाटी कम्युनिस्ट भन्ने पार्टीको दाङमा भएको विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनमा उम्मेर हद बारे कुरा उठेकै हो। केहि मनुवा हद भित्र पर्न कानुनी र नैतिकताको हद नाघेर प्रस्तुत भएको मैले देखेको थिए। प्रतिनिधिलाई रातभर अनिदो बनाएर त्यहीँ मौकामा राती तीन बज्ये विद्यार्थी नेता घोषणा गर्न पार्टीका महानेता पनि देखेका छौँ ।
अधिकांश पार्टीमा पार्टीको गुट उपगुटका कारण विद्यार्थी संगठनका सम्मेलनहरु औपचारिकता मात्र टुंगो लाग्ने गर्छन् । पहिले नै तयार पारेको प्यानल र बिधान मंचबाट घोषणा गर्ने तलबाट ताली पिटेर बिधान र नेतृत्व चयन गर्ने । त्याहाँ सहभागी प्रतिनिधिलाई कठपुतली बनाउने प्रवृत्तिको कारण विद्यार्थी संगठन तहसनहस भएका छन् ।
यस्तो प्रवृत्तिलाई तोड्दै नेकपा (माओवादी केन्द्र ) पार्टीले निरन्तरता माथि क्रमभंगता गर्दै विद्यार्थी संगठन लाई पार्टी सत्ता बाट स्वतन्त्रता दिदै आफ्नो बिधान आफै बनाउन र आफ्नो नेतृत्व आफै छान्न अधिकार दियो ।
त्यसपछि २३औं राष्ट्रिय सम्मेलनको विधानमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )मा ३२ वर्ष उम्मेर हद लगाउने वा खुल्ला गर्न भनेर आन्तरिक चुनाव गर्यो । चुनाबमा ३२ वर्ष हद लगाउने मत पास भयो । चुनाव मार्फत बिधान पास गरेर वामपन्थी इतिहासमा सम्भत पहिलो रेकर्ड बनायो। नेपालमा सिथिल विद्यार्थी आन्दोलनमा नयाँ रक्तसञ्चार पैदा गर्न यो एउटा पहलु हुन सक्छ ।
हरेक घटना वा बस्तुको सकारात्मक र नकारात्मक दुबै पक्ष हुन्छन् भनेर माक्र्सवादको आत्मा द्वन्द्वात्मक भौतिकवादमा भने जस्तै ३२ वर्ष उम्मेर हदले व्यक्तिगतरुपमा धेरै मान्छेहरुलाई नेतृत्वमा पुग्नै लाग्दा संगठनबाट बाहिरिनु पर्दा नकारात्मक लाग्नु स्वभाविक हो।
जनयुद्धको बेला रोल्पा बाट मात्र विद्यार्थी संगठनबाट एकैपटक २१ सय जना विद्यार्थीलाई जनमुक्तिसेनामा पठाएको थियो । विद्यार्थी संगठनमा नै काम गर्ने इच्छा ,चाहाना हुदाहुदै पनि पार्टी र संगठनको आवश्यकताले प्रत्यक्ष लडाइँमा जानै पर्ने थियो गयो । देशैभरीबाट त्यसरी नै विद्यार्थी संगठनबाट जनमुक्ति सेनामा गयो अग्रमोर्चामा लड्यो धेरै संख्यामा सहिद, घाइते, अपांग र बेपत्ता भयो । फलस्वरूप जनयुद्धले त्यो उच्चाई चुम्योको थियो। अहिले त त्यस्तै शहिद , घाइते, अपांग र बेपत्ता हुनुपर्ने खालको लडाइँमा जानुपर्ने छैन ।
पार्टीमा गएर पार्टीलाई जनप्रिय ,लोकप्रिय ,जुझारु र बलियो बनाउन बाकी समय दिनुपर्छ । विद्यार्थी आन्दोलनबाट प्राप्त अनुभव ,सिर्जनशीलता र सीप पार्टी बनाउने सिपाहीको रुपमा काम गर्नुपर्छ ।
काठमाडौ छोडेर गाउँ फर्किनु पर्छ आउँदो चुनाबमा पार्टीलाई गाउँपालीका ,प्रदेश संसद र प्रतिनिधि सभा सदस्य जितेर समाजवाद यस्तो हुन्छ भनेर संसारलाई मोडेल देखाउने तयारी गर्नुपर्छ ।
हरेक मानिस हरेक क्षण परिक्षाको घडीमा हुन्छ एउटा स्टेप पारेपछी अर्को स्टेप अगाडी आई हाल्छ । त्यसलाई पनि पार गर्नैपर्छ । ३२ वर्ष उम्मेर हद लगाउन सफल भएका हद भित्रका विद्यार्थीहरुको बिचमा स्वच्छ प्रतिस्पर्धा आवश्यक छ। सबैको आआफ्नो उम्मेदवारी दिनु आवश्यक पनि थियो ।यहाँबाट जितेका हरुले समग्र विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै विजयी हुनैपर्छ असफल हुने छुट छैन ।नत्र नयाँ हुने छैन उहीँ परम्परागत नै हुने छ।
हद भित्रका विद्यार्थी नेताहरूको जसरी सामाजिक संजाल र लेख, आलेख मार्फत देखिएका आफ्ना राजनीतिक दृष्टिकोण ,वुझाई ,बौद्धिकता, सिर्जनशीलता र वाक क्षमता हेर्दा म चाहिँ विद्यार्थी आन्दोलनमा उषा किरण उदाएको देख्छु एकातिर भने अर्कोतिर हद नाघेका विद्यार्थी नेताहरूको कारण संसदमा नयाँ वर्षमानहरु, नयाँ माधव सापकोटाहरु , नयाँ सरल सहयात्रीहरुको इट्रीको संकेत देख्छु । यदि हामी सबै लाग्यौँ भने सम्भव छ।
लेखक : पुर्व विद्यार्थी नेता अहिले नेकपा ( माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समिति सदस्य हुन् ।


