रोल्पा । लुङ्ग्री गाउँपालिकाको आफ्नै नवनिर्मित प्रशासकीय भवनको औपचारिक उदघाट्न भएको छ।
गाउँपालिकाले प्रशासकीय भवन निर्माणको लागि स्मृति विशाल नारायण जेभीसँग २०७९ पुस २० देखि काम सुरु गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले उक्त मितिदेखि दुई वर्षभित्र काम सक्ने गरी सम्झौता गरेको थियो । सो निर्माण कम्पनीले २०८१ पुस २० मै सम्ता अवधि भित्रै कार्य सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले बताएका छन् ।
निर्माण व्यवसायीसँग ७ करोड ४३ लाख ८४ हजारमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएकोमा कार्यसम्पादन पश्चात प्राविधिक मूल्याङ्कन ६ करोड ९२ लाख ३ हजार रकम मात्र भुक्तानी पाएका छन् समितिबाट ४७ लाख २० हजार खर्च गरेको समेत जानकारी दिए ।
गाउँपालिकाको प्रशासकीय भवन ४ तलाको रहेको छ । जसमा सभाहल सहित ४८ कोठाहरू रहेका छन् जसमा भवनमा अध्यक्षको कार्यकक्ष, उपाध्यक्षको कार्यकक्ष, न्यायिक समितिको इजलास कक्ष, सम्पूर्ण विषयगत शाखाहरूको कक्ष, शौचालय र भवनको प्राङ्गणमै पार्किङको व्यवस्था समेत रहेको गाउँपालिकाले जनाएको छ ।
लुंग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले कार्यक्रमलाई सम्बोधन गर्दै ‘करिब आठ नौ वर्षको बिचमा भाडाको भवनबाट सेवा प्रवाह गर्दै गर्दा समस्या झेल्नुपरेको थियो’, उनले भने ‘एउटै छानामुनीबाट सेवा प्राप्त गर्ने अवसर जुरेको छ, हिजो भाडाको घरबाट सेवा प्रवाह गर्दै गर्दा कर्मचारीहरुलाई असहजा र असजिलो भएको थियो । हामीले गुणस्तरीय सेवा प्रवाह गर्नमा तत्पर हुनुपर्ने छ ।’ निर्माण कम्पनीले समयमै काम सम्पन्न गरेपनि संघिय सरकारबाट प्राप्त हुने रकम समयमै भुक्तानी नहुँदा समस्या हुनेगरेको उनले बताए । गाउँपालिकाको तर्फबाट बेहोर्नु पर्ने गाउँपालिकाले साझेदारी गरेको रकमे भुक्तानी गरिसक्दा पनि संघिय सरकारबाट प्राप्त गर्ने रकम समयमै प्राप्त नहँुदा नवनिर्मित भवनबाट सेवा प्रवाह ढिलो भएको हो।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी गुरुङ, वडाध्यक्ष जोखबहादुर बुढाथोकी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिब तिलक घर्तिमगर लगायतल मन्तव्य राखेको थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लेपेन्द्र बुढाथोकीले गरेका थिए ।


